Mero Chitwan
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुले पुर्‍याएको क्षतिको मूल्याङ्कन गरी राहत रकम वितरण

चितवन : चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई  दुई करोड दुई लाख १७ हजार सात सय दुई रुपैयाँ राहत प्रदान गरिएको छ । निकुञ्जले आठ सय १३ वटा घटनाका प्रभावितलाई सो रकम वितरण गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पुर्‍याएको क्षतिको मूल्याङ्कन गरी राहत रकम वितरण गरिएको हो ।

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई एक करोड रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ ।

यस्तै गम्भीर घाइते भएका २४ जनाको परिवारलाई ३२ लाख ४४ हजार एक सय ७४ रुपैयाँ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई दुई लाख ४५ हजार चार सय ६८ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन् ।  उनीहरूमध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट सात जना, भालुको आक्रमणबाट पाँच जना, बँदेलको आक्रमणबाट एक जना र गौरीगाईंको आक्रमणबाट एक जना घाइते भएका थिए ।

यसैगरी गैँडाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट तीन जना र मगर गोहीको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले बताए । गत आवमा एक सय ८७ वटा पशु धनमा जनावरका कारण क्षति पुगेको छ । त्यसका लागि २४ लाख ९१ हजार सात सय १० रुपैयाँ राहत रकम प्रदान गरिएको छ ।

भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सोबापत ९१ हजार रुपैयाँ राहत बुझाइएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पुर्‍याएको उनले बताए । घरगोठ क्षतिबापत पाँच लाख ३५ हजार नौ सय ७५  रुपैयाँ राहत वितरण गरिएको छ ।

अन्नबालीमा पाँच सय २४ पटक क्षति भएको र ३६ लाख नौ हजार तीन सय ७५ रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको तिवारीले बताए ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update