Mero Chitwan
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी : भारतीय उद्धार टोलीले थाल्यो काम

चितवन- चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा सघाउन आएको भारतीय टोलीले आज बिहानदेखि उद्धारको काम सुरु गरेको छ । भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको विशेषज्ञसहितको टोली भैरहवा हुँदै हिजो चितवन आइपुगेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले १२ सदस्यीय उद्धार टोली कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्रको टिमसँग रहेर काम गर्ने जनाएका छन् ।

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर-२९ सिमलतालस्थित त्रिशूली नदीमा हराइरहेका दुई वटा बस अझै भेटिएका छैनन् । दुई वटा बसमा ६५ जना यात्रु सवार थिए । घटनाको १० दिन बितिसक्दा अहिलेसम्म २५ वटा शव फेला परेको छ । तीमध्ये १८ जनाको सनाखत भएर परिवारले शव बुझिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घट्नास्थलमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५ सय सुरक्षाकर्मीले निरन्तर सोनार क्यामेरा, र्‍याफटिङ बोट, मोटरबोट, गोताखोर र पैदलमार्फत खोजी गरिरहेका छन् ।

दुर्घटनामा परेकामध्ये ३ जना पौडिएर बाँच्न सफल भएका थिए ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update