Mero Chitwan
बंगलादेशबाट १७ नेपाली आज फर्कँदै

काठमाडौं-बंगलादेशमा जारी हिंसात्मक आन्दोलनका कारण असुरक्षित महसुस गरेका नेपाली विद्यार्थीलाई सरकारले हवाई उद्धार गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १७ विद्यार्थीलाई ढाका विमानस्थलबाट काठमाडौं ल्याइने जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । विद्यार्थीका परिवारसँगको छलफलपछि उनीहरुलाई नेपाल फर्काउन लागिएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । 

नेपाल फर्कन चाहने अन्य विद्यार्थीका लागि पनि परराष्ट्र मन्त्रालयले अनलाइनमार्फत फाराम भर्न सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ । 

यस्तै शनिबार साँझसम्म आठ सय नेपाली हवाई र स्थलमार्गबाट नेपाल आउँदै गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले उनीहरुलाई नेपाल ल्याउन मन्त्रालय तथा ढाकास्थित नेपाली दूतावासले सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेको जानकारी दिएकी छन् । 

सबै नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा नेपाल ल्याउन सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेकी छन् । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update