Mero Chitwan
छिमेकी मुलुक धमाधम विद्यार्थी उद्धार गर्दै, नेपाल सरकारको भने हेल्प डेस्कमात्र

काठमाडौंः बंगलादेशमा हिंसा चकँदै गएपछि विभिन्न मुलुकले धमाधम आफ्ना विद्यार्थी उद्धार गर्न थालेका छन् ।

भारतले बंगलादेशस्थित उच्चायुक्तको कार्यालयमार्फत् हवाई तथा स्थलमार्गमार्फत् १ हजार विद्यार्थीको उद्धार गरेको छ । बंगलादेशमा भारतका ७ हजार विद्यार्थी अध्ययनरत रहेकोमा चार हजार आफ्नो सम्पर्कमा रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । यस्तै, भारतले नेपाल र भुटानका विद्यार्थीलाई स्वेदश फर्कन पनि सहयोग गरिरहेको जनाएको छ। 

नेपालले भने बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।

मन्त्रालयले शनिबार एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको हव् । समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले निर्धारण गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरेको छ । 

सम्पर्कका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा सम्पर्कका लागि शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । त्यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना मन्त्रालयलाई जानकारी गराइदिनसमेत अनुरोध गरिएको सूचनामा उल्लेख छ ।
आरक्षणविरोधी आन्दोलनका कारण बंगलादेशमा एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सरकारले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरी सेना परिचालन गरेको छ। 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update