Mero Chitwan
माइक्रोसफ्ट डाउन : विश्वभर अवरुद्ध भएका सेवा बिस्तारै सुचारु हुँदै

काठमाडौं : विश्वभर अवरुद्ध भएको विमान सेवा, सञ्चारमाध्यम, बैंक तथा अस्पतालका सेवाहरु बिस्तारै सञ्चालन हुँदै आएको बीबीसीले उल्लेख गरेको छ । हिजो साइबर–सुरक्षा फर्म ‘क्राउडस्ट्राइक’ले त्रुटिपूर्ण सफ्टवेयर अपडेट जारी गरेपछि माइक्रोसफ्ट विन्डोजलाई असर गरेको कारण विश्वभरका सेवा प्रदायक कम्पनीहरु प्रभावित भएका थिए ।

तर, दुवै कम्पनीले त्रुटिलाई सच्याउँदै गएपछि अवरुद्ध सेवाहरु बिस्तारै सञ्चालनमा आएको बताइएको छ । कम्पनीले ब्याकअपको काम भइरहेको कारण पूर्ण रुपमा सम्पूर्ण सेवा सञ्चालन गर्न समय लाग्ने जनाएका छन् । माइक्रोसफ्ट क्लाउडको सर्भर डाउन सबैभन्दा बढी एयरलाइन्सको सेवामा असर परेको थियो । हिजो विश्वभर ३३ सय उडान स्थगित भएको थियो । जसमा अमेरिकामा मात्रै सबैभन्दा बढी उडान रद्ध भएका थिए ।

त्यस्तै बेलायतका थुप्रै अस्पताल र फार्मेसी पनि सेवा प्रदान गर्न असक्षम भएका थिए । जसकारण यात्रु तथा ग्राहक वर्गलाई निकै सास्ती भोग्नु परेको थियो । दिल्लीको विमानस्थलले म्यानुअल अर्थात् लिखित रुपमा आफ्ना ग्राहकका लागि सूचना प्रदान गरिरहेको थियो भने त्यसको असर नेपालमा परेको थिएन ।

विश्वका अधिकांश यस्ता सेवा प्रदायक कम्पनीहरु क्लाउड सर्भरमा निर्भर छन् । क्लाउड डाटाको सुरक्षित भण्डारण गर्ने प्रणाली रहेका कारण त्यसमा समस्या आउँदा विश्वभरका सेवा प्रदायक कम्पनीले सेवा ठप्प गर्नु परेको थियो ।

माइक्रोसफ्ट अपरेटिङ सिस्टम प्रयोग गरिएका कम्प्युटरहरु ‘ब्लू स्क्रिन डेथ’ अर्थात अलर्टसहित निलो स्क्रिन देखिएर सर्भर डाउन हुँदा समस्या आएको बताइएको थियो । ’क्राउडस्ट्राइक’मा आएको समस्याका कारण माइक्रोसफ्ट क्लाउडमा समस्या देखिएको बताइएको छ ।

‘क्राउडस्ट्राइक’का प्रमुख कार्यकारी अधिकृत जर्ज कुर्जले सफ्टवेयर अपडेट गरेका कारण समस्या आएको स्वीकार्नु भएको थियो । साथै कुनै साइबर आक्रमण नभएको स्पष्ट पार्नुभएको थियो ।  

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update