Mero Chitwan
भरतपुरको बयरघारीमा ध्रुवे हात्तीको आतंक, चार घर भत्कायो 

चितवन-चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । हात्तीले हिजो  बस्तीमा पसेर चार घर भत्काइदिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए। 

बुधबार साँझ माडी क्षेत्रमा देखिएको उक्त हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको तिवारीले बताए । हात्तीलाई ‘डार्ट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ । रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए ।  हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उनले जानकारी दिए ।

हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उनले बताए । हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update