Mero Chitwan
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीका लागि आजदेखि भारतीय उद्धार टोली खटिने

चितवन । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीका लागि आजदेखि भारतीय उद्धार टोली खटिने भएको छ । त्रिशूली नदीमा गत शुक्रबार खसेको बसमा सवार यात्रुमध्ये हालसम्म २५ जनाको शव फेला परेको छ भने ३७ जनाको अवस्था अझै अज्ञात छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले १२ सदस्यीय उद्धार टोली आज घटनास्थलमा पुगेर खोजी कार्य सुरु गर्ने जानकारी दिए ।  नेसनल डिजास्टर रेस्पोन्स फोर्स भारतबाट विशेषज्ञसहितको टोली भैरहवा हुँदै चितवन आउन लागेको हो । उनीहरुले चितवनको कुरिनटारस्थित शसस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्रको टिमसँग रहेर काम गर्नेछन् ।

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर-२९ सिमलतालस्थित त्रिशूली नदीमा हराइरहेका बस अझै भेटिएका छैनन् भने बसमा सवार यात्रुहरुको शव १ सय किलोमिटर पर भारतीय भूमिमा समेत भेटिन थालेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहानसम्ममा २५ वटा शव फेला परेको छ ।

पछिल्लोपटक नवलपरासीस्थित नारायणी नदी क्षेत्रबाट नै शव फेला परेको हो । जसमध्ये २१ जना पुरुष र ४ जना महिला रहेका छन् । ती मध्ये १८ जनाको सनाखत भएर परिवारले शव बुझिसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले जानकारी दिए। 

घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५ सय सुरक्षाकर्मीले निरन्तर सोनार क्यामेरा, र्‍याफटिङ बोट, मोटर बोट, गोताखोर र पैदलमार्फत खोजी कार्य गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update