Mero Chitwan
सिमलताल दुर्घटना : बेपत्ता यात्रुमध्ये २३ को शव भेटियो, १४ को सनाखत

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर-२९ सिमलतालस्थित त्रिशूली नदीमा खसेर बेपत्ता दुई बसमा सवार यात्रुमध्ये हालसम्म २३ जनाको शव फेला परेको छ । त्यसमध्ये १४ जनाको मात्र सनाखत भएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार भारतको चम्पारण नगाहास्थित नारायणी नदीको किनारमा थप दुई वटा शव भेटिएको छ । भारतीय सिमा सुरक्षा बल एसएसबीले फेला पारेको शवमध्ये एउटा सशस्त्र प्रहरी बललाई बुझाइसकेको छ भने अर्को एउटा ल्याउन बाँकी छ । गणपति बसका ९ जना मृतकको सनाखत भएको छ भने एन्जलमा सवार ५ जनाको पहिचान भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।  अन्य ९ शवको सनाखत हुन सकेको छैन । \

भारत सीतामढीका ऋषिपल साह, भारतकै पश्चिम चम्पारणका जयप्रकाश ठाकुर, भारत बेलिया मझेलियाका सजात अन्सारी तथा चितवनको माडीका सुदिप विक, भारत सीतामढीका बिबेक कुमार,रौतहट बौधीमाइकी अमृता कुमारी, पर्साकी चन्द्रप्रभा कुमारी, सर्लाहीका जितेन्द्रराम महरा, रौतहटका ऋषिकुमार सिंह, रौतहटकै अशोककुमार यादव, गणपति बसका चालक किशोरकुमार चौधरी, बाराका परमानन्द पण्डित, सर्लाहीका रमितकुसर माझी, चितवनका विकास परियारको शव पहिचान भएको हो ।

बेपत्ताहरुको सशस्त्र प्रहरी बलसहितको टोलीले खोजी गरिरहेको छ । उद्धारका लागि उपलब्ध सबै स्रोतको प्रयोग गरिए पनि धमिलो पानी र बहाव नघटेकाले बस नभेटिएको उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले बताउँदै आएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५ सय सुरक्षाकर्मीले निरन्तर सोनार क्यामेरा, र्‍याफ्टिङ बोट, मोटर बोट, गोताखोर र पैदलमार्फत खोजी कार्य गरिरहेका छन् ।

त्रिशूलीमा हराएका गणपति र एन्जल बसका ६५ जना यात्रुमध्ये ३ जना बाँच्न सफल भएका छन् भने ६२ जना यात्रु बेपत्ता भएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update