Mero Chitwan
उपसभामुख राना भिसा सिफारिस विवादमा, संसदीय समितिमा समेत उजुरी

काठमाडौं-उपसभामुख इन्दिरा रानाले पदीय दुरुपयोग गरी अनधिकृत व्यक्तिलाई अमेरिकी दूतावासमा भिसाका लागि सिफारिस गरेको सार्वजनिक भएपछि जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी परेको छ । 

 उपसभामुख रानाविरुद्ध पदीय दुरुपयोग गरेको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो । रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका जाने प्रक्रियामा सहजीकरण गरिएको भनिएको समिति सभापति रामहरि खतिवडाले जनाएका छन् । 

उपसभामुखले पदीय दुरुपयाेग गरेको आरोप लागेपछि सभामुख देवराज घिमिरेले शुक्रबार नै उपसभामुख रानालाई बोलाएर जानकारी लिएका थिए। 

संसद्को शुक्रबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सदस्यहरुले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रका बारेमा सभामुखसँग जानकारी मागेका थिए । 

संयुक्त राष्ट्रसंघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो । उक्त कार्ययक्रममा भाग लिने क्रममा चार पुरुष र एक महिलालाई अन्तर्वार्ताको मिति अगाडि मिलाइदिन भन्ने सिफारिस गरेको पत्र बाहिरिएको हो । उक्त पत्र उपसभामुखको लेटरप्याडमा लेखिएको छ । 

आरोप निराधार : उपसभामुख

उपसभामु रानाले भने आफूमाथि लागेको आरोपलाई निराधार भएको दाबी गरेकी छन् । शुक्रबार नै स्पष्टीकरणसहितको विज्ञप्ति जारी गर्दै उनले आफूविरुद्ध ‘नियोजित कदम’ चालिएको बताएकी हुन् । 

उपसभामुख रानाले आफूले करूणाभावले उक्त पत्र लेखेको तर पत्र लेखेको डेढ वर्षपछि विवादित बनाउन खोजिनुको पछाडि नियोजित कदम रहेको उल्लेख गरेकी छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update