चितवन-नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गत असार २८ गते गएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको हो । घटनास्थलभन्दा १०३ किलोमिटर पर पर्छ ।
शव परिवारका सदस्यहरुले सनाखत गरेका हुन् ।
अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ । ८ शवको सनाखत हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन् । सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय छन् । दुवै बसका गरी अझै ४५ यात्रुको अवस्था अज्ञात छ । बसका ३ जना भने पौडिएर बाँच्न सफल भएका थिए ।
यात्रु तथा बसको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी गरी झण्डै ५ सय जना सुरक्षाकर्मीहरु परिचालित छन् ।