Mero Chitwan
७० वर्षका वृद्धलाई आफ्नै छोराबुहारीले वनमा लगेर छाडिदिएपछि...

बेलबारी- मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् ।

बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ । 

बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । 'चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । हाल उहाँको उपचार भइरहेको छ', उनले भने । 

वृद्धको शरीरको भागमा चोट देखिएको र उहाँ धेरै बोल्न सक्ने अवस्था नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए । बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् । रासस

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update