Mero Chitwan
सत्ताबाट बाहिरिएपछि प्रचण्डले ब्युँताए समाजवादी मोर्चा, कांग्रेस–एमाले गठबन्धन 'अप्राकृतिक’ भएको निष्कर्ष

काठमाडौँ- सत्ताबाट बाहिरिएपछि माओवादी, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीले समाजवादी मोर्चालाई ब्युँताएका छन् ।

आज मंगलबार बसेको मोर्चाको बैठकले कांग्रेस र एमालेबीच भएको सत्ता साझेदारी र संविधान संशोधनमा भएको समझदारीलाई समाजवादी अपारदर्शी भएको ठहर गरेको छ । मोर्चाले कांग्रेस–एमालेबीच ‘अप्राकृतिक’ गठबन्धन भएको पनि निष्कर्ष निकालेको छ ।

मोर्चाको बैठकले कांग्रेस–एमालेको सत्ता गठबन्धनमाथि समीक्षा गर्दै संविधान संशोधनको मुद्दालाई सूक्ष्म विश्लेषण गरी कार्यक्रम ल्याउने निर्णय गरेको छ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैंले बनाएको गठबन्धन भत्काउनुमा गलत उद्देश्य देखिएको टिप्पणी गरे । दुवै नेताले संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीलगायतका प्राप्त उपलब्धिलाई रक्षा गर्दै अघि बढ्नुको विकल्प नभएको विश्लेषण पनि गरेका छन् ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कांग्रेस–एमाले गठबन्धनलाई ‘अप्राकृतिकसँगै दलाल पुँजीपतिको चलखेलबाट निर्माण भएको’ निष्कर्ष निकालेको बताए । 

समाजवादी धारणा राख्ने अरू दलहरूलाई पनि समेटेर प्रतिपक्षको साझा मोर्चा बनाउने बैठकले निर्णय गरेको छ । कांग्रेस–एमाले सरकारका गलत कामलाई संसद् र सडकबाट प्रतिरोध गर्ने मोर्चाको निष्कर्ष छ । मोर्चाको समाजवादी बाटोमा अघि बढ्न दीर्घकालीन कार्यनीति बनाउन नेकपा महासचिव एवं मोर्चाका संयोजक नेत्रविक्रम चन्दको संयोजकत्वमा समिति बनाइएको छ । यसमा मोर्चामा रहेका वरिष्ठ नेताहरू सदस्य छन् । मोर्चाले १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update