Mero Chitwan
गौतम बुद्ध क्रिकेट रंगशाला : डिजाइन परिवर्तन गरी दर्शक क्षमता घटाएर निर्माण गरिने 

चितवन-चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण नयाँ ढंगले अघि बढ्ने भएको छ । रंगशालाको पहिलेको डिजाइन परिवर्तन गरी दर्शक क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने रंगशाला निर्माण गर्न लागिएको हो ।

रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच ३० महिनाभित्र रगंशाला निर्माण सम्पन्न गर्ने गरी सम्झौता भइसकेको छ । निर्माण कम्पनीले साउन पहिलो सातादेखि काम सुरु गर्ने तयारी गरेको छ ।

२०७५ माघ १६ गते रंगशाला निर्माण सुरु हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो । अब भने पहिलो चरणमा १५ हजार क्षमताको बन्नेछ भने नयाँ प्रविधिको प्रयोग गरी ५ वटा पिचसहितको मैदान बनाउन लागिएको छ । 

पहिलो चरणमा रंगशालामा मैदान, ड्रेनऐज, २ वटा समान ३/३ तलाको टावर बनाइनेछ । एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । दुवैतर्फ १५ हजार क्षमताको प्यारापिट  बनाइनेछ । प्यारापिटको क्षमता पछि बढाउन सकिनेछ । 

निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी कम्पनीले भ्याट र पीएससहित ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाामा सम्झौता गरेको हो ।  ०८३ साल पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । 

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update