Mero Chitwan
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ-नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय  आयोजित समारोहबीच शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् । 

ओली २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । उनको पहिलो कार्यकाल ९ महिनाको थियो । २०७३ साउन ९ मा राजीनामा दिएसँगै उनको कार्यकाल सकिएको थियो । तर, उनले अर्को सरकार गठन नहुँदा (साउन १९) सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा एमाले र माओवादीले चुनावी गठबन्धन गरेका थिए । उक्त निर्वाचनबाट कम्युनिस्ट गठबन्धनले प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सिट प्राप्त गर्‍यो र पार्टी एकताको घोषणा गर्‍यो । सोही जनमतका बलमा ओली संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेताको हैसियतमा २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update