Mero Chitwan
युरो कपको उपाधि स्पेनलाई

काठमाडौँ- युरोकप- २०२४ को उपाधि स्पेनले जितेको छ। सोमबार राति १२:४५ मा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि कब्जा गरेको हो।

स्पेनका लागि निको विलियम्स र मिकेल ओयार्जाबालले एक/एक गोल गरे। स्पेनका विलियम्सले खेलको ४६औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। विलियम्सले लामिन यामलको पासमा गोल गरेका थिए।

७३औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर, निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा ओयार्जाबालले गोल गर्दै स्पेनलाई जित दिलाए। मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए।

योसँगै स्पेन चौथो पटक युरोकप विजेता बनेको छ भने इङ्ल्याण्ड  लगातार दुई पटक फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको छ। यसअघिको युरोकपमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update