Mero Chitwan
सिमलताल पहिरो : बेपत्तामध्ये ११ जनाको शव भेटियो, बस खोज्न विदेशबाट विशेष उपकरण ल्याउने तयारी

चितवन- त्रिशूली नदीमा बेपत्ता भएका ६५ यात्रुमध्ये ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन् । 

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन नसकेका शवहरू मध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएको छ । पहिचान भएपछि ती शव पोष्टमाटम गर्दै परिवारलाई बुझाइने बताइन्छ ।

हालसम्म फेला परेका शवमध्ये सनाखत भएकामा भारत वेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकाश परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल रहेका छन् । 

सिमलताल पहिरोमा परी दुर्घटनाग्रस्त बस अझै भेट्न सकिएको छैन भने नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल प्रहरीले  खोजी कार्य जारी राखेको छ । हिजो चितवन आएका गृह सचिव एकनारायण अर्यालले बस खोज्न भारत वा चीनबाट विशेष उपकरण ल्याउने तयारी  भइरहेको जानकारी दिएका थिए । 

गत शुक्रवार बिहान काठमाडाैँ गौरको बस र वीरगन्ज काठमाडाैँको बस भरतपुरको सिमलतालवाट  त्रिशूलीमा खसेर बेपत्ता भएको हो। बसमा भएकामध्ये ३ जना पौडिएर बाँच्न सफल भएका हुन् । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update