Mero Chitwan
राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीले गरे  शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशंकरले आज विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहीबार विहान नै काठमाडौ आएका हुन् । 

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम  गर्न जरुरी रहेकोमा जोड दिएका थिए । 

उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरेका थिए।सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका संभावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरे । 

यस्तै विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।  परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका विदेशमन्त्री जयशंकरले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update