Mero Chitwan
पश्चिम चितवन गाजरखेतीको ‘हब’

 चितवन-प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा रु १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गरेका हुन्।

२०३२ सालदेखि श्रीपुरमा गाजरलगायतका प्राङ्गारिक खेती गर्दै आएका अधिकारीले तत्कालिन समयमा ५० ग्राम बीउ रोपेर गाजरको खेती सुरु गरेका अनुभव सुनाए । त्यसपछि क्रमिकरुपमा अरु किसान पनि गाजर खेतीमा अग्रसर हुँदा श्रीपुरलगायत पश्चिम चितवन गाजरको हबजस्तै बनेको उनको भनाइ छ । अधिकारीका अनुसार यो क्षेत्रमा गाजरको लागि उपयुक्त माटो र हावापानी छ । 
 
गाजर, मुला, चुकन्दर सलादका रुपमा प्रयोग गर्ने वस्तु भएको हुँदा स्वास्थ्यको हिसाबले पनि यसको उत्पादन प्राङ्गारिक प्रक्रियाले हुनुपर्ने उनी बताउँछन् । तर गाजर खेतीलाई अझ व्यवस्थित बनाउन नसकेको उल्लेख गर्दै उनले विभिन्न सरोकारवाला निकायको साथ र सहयोग मिलेमा यस खेतीलाई अझ व्यवस्थितरुपमा गर्न सकिने बताए ।
 
प्राङ्गारिक सङ्घ र प्राङ्गारिक सहकारीमा समेत आबद्घ अधिकारीले अहिले जिल्ला प्राङ्गारिक सङ्घ, प्राङ्गारिक कृषि उत्पादक सहकारीको पूरै समूह प्राङ्गारिक गाजर खेती गर्ने क्रममा जुटिरहेको बताए ।  जिल्ला प्राङ्गारिक सङ्घअन्तर्गत १६÷१७ बिघामा जमिनमा गाजर र चुकन्दर खेती गरिएको छ ।
 
यहाँ उत्पादन भएको एक सय टन गाजर र चुकन्दर अर्गानिक भ्यालीलाई दिने सहमति भएको र अन्य उत्पादन अर्गानिक बजारमा बिक्री गरिने जनाइएको छ । विगत देखिनै सहभागितामूलक गुणस्तर निर्धारण प्रणालीका अनुसार विभिन्न प्राङ्गारिक उत्पादन गरिँदै आएको र उत्पादन गरेर बजारीकरण गर्ने वस्तु अर्गानिक सर्टिफिकेसन नेपाल (ओसिएन) प्रमाणित हुने जनाइएको छ । हाल सेरेसजस्ता अन्तर्राष्ट्रिय कम्पनीले समेत बजारीकरणको लागि प्रमाणीकरणको काम गरिरहेको उनले बताए । 
 
प्राङ्गारिक प्रक्रियासँग गाजर खेती गर्दासँगै उम्रने झारको कारणले खर्च बढी आउने अर्का किसान गुरुङले बताए । त्यसैगरी किसान  पौडेलले गाजर खेतीमा रोग र किराको समस्या नभएको बताए । उचित व्यवस्थापन भएको खण्डमा उत्पादनको हिसाबले १५ देखि २० क्विन्टल प्रतिकट्ठा गाजर उत्पादन गर्न सकिने उनको भनाइ छ ।  मङ्सिर पहिलो सातामा रोपिएको गाजर फागुनको अन्तिम सातामा तयार हुने उनले बताए। 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update