चितवन : शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र यात्रु खोजी क्रममा आज (शनिबार) एउटा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार दुर्घटनास्थलभन्दा ५० किलोमिटर पश्चिम नारायणी नदीमा आज बिहान एक भारतीय नागरिकको शव फेला परेको हो।
शवको साथमा भेटिएका बैंकका एटीएम कार्ड र भारतीय आधार कार्डबाट उनको नाम ऋषिपाल साह भन्ने खुलेको डीएसपी रिजालले बताए।
‘उनी त्यही दुई बसमध्येका यात्रु हुन् कि होइनन् भनेर सोधखोज गर्दै छौँ’, डीएसपी रिजालले भने, ‘उनी भारतीय नागरिक भएको पत्ता लागे पनि ठ्याक्कै घर ठेगाना थाहा भइसकेको छैन, हामी सनाखतको प्रयास गरिरहेका छौँ।’उनका अनुसार ऋषिपालको साथमा ग्लोबल आईएमई र एसबीआई बैंकका एटीएम कार्ड रहेको पाइएको छ। साथै भारतीय आधारकार्ड पनि फेला परेको छ।
काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् ।
एन्जल डिलक्समा २४ यात्रु र गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ रौतहटका नन्द दास, जोगेश्वर राय यादव र सुरज गुप्ता भने प्रहरीको सम्पर्कमा छन् । उनीहरुको भरतपुरका अस्पतालमा उपचार भइरहेको छ ।