Mero Chitwan
कविता : ए भानु आऊ

ए भानुभक्त खाँचो छ सख्त तिम्रो नै नेपालमा
नेपाली भाषा रोइराछ सदा समाती कपालमा ।

फिरङ्गी आयो अभाषा ल्यायो हाम्रोलाई गाह्रो भो
बिदेशमा युवा स्वदेशमा बूढा जोगाउनै साह्रो भो

सकिँदा असार झारा चैं टार्छन् जयन्ती मनाइ
अरू दिन हिँड्छन् अङ्ग्रेजी छाँटी कपासे दाम्लोलाई ।

रामायण हैन खामयण पढ्छन व्यवहार हेर्दामा
कसरी भन्नू तिम्रा अनुयायी लोकाचार पार्दामा ।

दुष्टको विरोध तिमिले गर्‍यौ कविता लेखेर
दुष्टकै पूजन अहिलेका गर्छन स्वार्थलाई देखेर ।

ए भानु आऊ सबक सिकाऊ तिमी नै खटेर
जो सत्य बोल्छ त्यहीँ लात हान्छन् अहिलेका अटेर ।

प्यारो छ हाम्लाई नेपाली पन  धर्म र सँस्कृति
रामको भूमि सिताको माइती सुन्दर प्रकृति ।

ढिकी र जाँतो, पँधेरो बेसी, गाउँको चौतारा
चिन्दैनन् अहिले गुन्द्रुक, सातु, ठेकी र जोतारा ।

बर्गर चिन्छन् त्यो पिज्जा चिन्छन् चाउचाउ चटपटे
ती आफ्ना व्यन्जन मकै र भट्मास, सेलरोटी लखेटे ।

भाषाले गर्‍यौ एकाकार देश रामकथा सुनाउँदै
सात चोक्टा पारे त्यही देश आज हामीलाई रुवाउँदै ।

के बयान गर्नु हे भानु कवि आजको बिकासको
मान्दछन् जनता शासन छ चल्दै भूतप्रेत पिचासको ।

त्यसैले आऊ ए भानु फेरि म साथ दिनेछु
आफ्नैपन फर्काई खुसीले रमाई म यहाँ हिंड्नेछु।

२०८१ असार २४
चितवन 
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update