Mero Chitwan
रत्ननगरमा भानुभक्त आचार्यको साहित्यिक व्यक्तित्वको चर्चा

चितवन : चितवनको रत्ननगरमा आदिकवि भानुभक्त आचार्यको साहित्यिक व्यक्तित्वको चर्चा गरिएको छ । रत्ननगर बाङ्मय प्रतिष्ठानले २११औं भानु जयन्तीको अबसरमा आयोजना गरेको कार्यक्रममा नेपाली साहित्यमा भानुभक्तले खेलेको भूमिका र उनको कवित्व र आशुत्वको विषयमा चर्चा गरिएको हो । कार्यक्रममा कवि तथा साहित्यकारहरुले भानुभक्त सामान्य कवि नभएको भन्दै नेपाली कलासंस्कृति संरक्षणमा उहाँको भूमिकालाई सदैव सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ पत्रकार, लेखक तथा साहित्यकार पुरुषोत्तम दाहालले भानुभक्त प्रगतिशिल कवि रहेको भन्दै भानुभक्तको आशुत्व अहिले पनि जीवित इतिहास भएको बताए । 'भानुभक्त जस्तो प्रगतिशिल कवि नेपालमा जन्मिएकै छैन,' उनले भने 'अब पनि जन्मिदैनन् ।'

नारीको  अस्तित्व जोगाउन लेखेको कवितालाई लिएर भानुभक्तलाई विवादमा तान्ने काम गरिएको भन्दै उनले त्यो अबुझहरुले लगाएको निराधार आरोप मात्र भएको बताए । कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले नेपाली कविताको मर्म बुझेर प्रकृति र संस्कृतिलाई छन्द मार्फत लेख्ने शैलीका कारण भानुभक्तलाई आदिकविको उपाधि प्रदान गरिएको बताए । प्रा.डा एकनारायण पौडेलले भानुभक्त भानुभक्तको चर्चा गर्दै उनको आशुकवित्व कहिल्यै नमर्ने बताए । 

bhanu-1720805284.jpg
उहाँले भानुभक्तबारे खोज तथा अनुसान्धान गरी उहाँको योगदानको ठेली तयार गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा साहित्यकार करुणा उदासी कृष्णद्वारा लिखित तनहुँका ध्रुवतारा नामक खण्डकाव्य वरिष्ठ पत्रकार दाहालले विमोचन गर्नुभएको थियो । पुस्तकमाथि कवि तथा साहित्यकार केशवराज आमोदीले चर्चा गरेका थिए । रत्ननगर बाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य रामहरी श्रेष्ठ, कवि तथा साहित्यकार कपिल अज्ञात लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कवि तथा साहित्यकारहरु धनराज गिरी, यमुना न्यौपाने, राजेन्द्र घायल, रामलाल कुमाल, प्रकासबाबु खनाल, अशोक भूषाल, सामना पहाड, होमनाथ घिमिरे, चिरन्जिवी दाहाल, सुनिता लोककल्याणी, इश्वरी ओझा लगायतले कविता बाचन गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update