Mero Chitwan
 प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको दाबी पेस

काठमाडौँ-प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले दाबी पेस गरेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले साँझ संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । 

प्रधानमन्त्रीमा दाबी पेस गर्न उनी कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । ओलीले कांग्रेस र एमालेका १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । संसद्‌का साना दलहरू जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस-एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । 

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update