Mero Chitwan
प्रधानमन्त्री दाहाल विश्वासको मत पाउन असफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभामा माग्नुभएको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ ।

दाहालले माग्नुभएको विश्वासको मतको पक्षमा ६३ मत पर्यो । विपक्षमा १९४ मत पर्दा एकजना सांसद् तटस्थ बसे । सभामुख देवराज घिमिरेका अनुसार आज सदनमा २५८ जना सांसद उपस्थित थिए ।

दाहालले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल सम्हालेयता संसद्‌मा पाँचौंपटक विश्वासको मत माग्नुभएको हो । तर नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलहरुले दाहाललाई विश्वासको मत दिएनन् ।

दाहालको पक्षमा माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र एकीकृत समाजवादीको १० मत मात्र पर्यो । त्यसअघि सभामुख घिमिरेले विश्वासको मत विभाजनका लागि सांसदहरुलाई भनेपछि दलहरुले पक्ष र विपक्षमा मतदान गरेका थिए । योसँगै प्रधानमन्त्री दाहालले संसद्‌बाट विश्वासको मत नपाएसँगै पदमुक्त हुनुभएको छ ।

त्यसअघि संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । त्यस क्रममा उहाँले आफ्ना भनाइ पनि राख्नु भएको थियो । त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूले दलीय आधारमा धारणा राखे ।

२०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त दाहालले यसपालि भने विश्वासको मत पाउन सफल हुनुभएन । अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । दुई ठुला दल कांग्रेस र एमालेको सहमतिअनुसार अब एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी असार ३० गते आइतबार अपराह्न ३ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update