Mero Chitwan
इरानमा दुई शक्तिशाली बिस्फोट,  १०३ जनाको मृत्यु

तेहरान–इरानको दक्षिणी सहर केरमानमा भएका दुईवटा शक्तिशाली बम विस्फोटमा कम्तिमा  १ सय ३ जनाको मृत्यु भएको छ । विस्फोटमा झण्डै २ सय जना घाइते भएका छन् ।

अमेरिकाद्वारा हत्या गरिएका पूर्वजनरल कासेम सोलेमानीको चौथो वार्षिकीका अवसरमा निकालिएको जुलुसमा बम विस्फोट भएको हो । सयौं मानिस सहभागी रहेको जुलुस सोलेमानीको समाधि रहेको ‘साहेब अल जमान’ मस्जिदनजिकै पुग्दा उक्त घटना भएको थियो ।

केरमानका डेपुटी गर्भनरले यस घटनालाई आतंककारी हमलाको संज्ञा दिएका छन् । जनरल सोलेमानी अमेरिकी ड्रोन हमलामा सन् २०२० मा इराकमा मारिएका थिए ।

सोलेमानीलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीपछिको दोस्रो शक्तिशाली नेताका रुपमा लिइन्थ्यो । सोलेमानीको हत्याको आदेश दिएका तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई विश्वकै पहिलो नम्बरको आतंककारीको संज्ञा दिएका थिए ।  आक्रमणको जिम्मेबारी तत्काल कसैले लिएको छैन । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update