Mero Chitwan
भारतीय विदेशमन्त्री जयशंकरले किन भेट्दैछन् दलका शीर्ष नेतालाईं ?

काठमाडौं–नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा हुँदैछ । भोलिसम्म २ दिन हुने बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको टोली आज काठमाडौं आइपुग्दैछ । 

बैठकका क्रममा दुवै परराष्ट्रमन्त्रीको रोहबरमा १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारसम्बन्धी सम्झौता हुँदैछ, जसमा भारतीय ऊर्जा सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा सचिव गोपाल सिग्देलले हस्ताक्षर गर्ने कार्यक्रम छ । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने घोषणा गरेका थिए । त्यसपछि गत भदौमा भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने औपचारिक निर्णय गरेको थियो । 

यस्तै, उच्च प्रभाव सामुदायिक विकास परियोजनाको बजेट सीमा ५ करोडबाट २४ करोड पुर्‍याउनेसम्बन्धी सम्झौता पनि हुनेछ । बैठकपछि १ सय ३२ केभीएका ३ वटा प्रसारण लाइनको उद्घाटन दुवै देशका परराष्ट्रमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम छ।  भारतको बिहारसँग जोडिने रक्सौल–परवानीपुर, कुशाहा–कटैया तथा उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन गरिने तय भएको छ । 

बैठकमा वाणिज्य मन्त्रालयले वाणिज्य सन्धी पुनरावलोकन तथा संशोधन गर्न सहसचिवस्तरीय समिति बनाउने प्रयास हुने जनाएको छ । यस्तै, भारतबाट आयात हुने कृषिजन्य वस्तुमा नेपालले कर लगाउन सक्ने प्रस्ताव राख्ने तयारीसमेत गरिएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट तेस्रो देशको एयरलाइन्सका लागि भैरहवा, नेपालगन्ज र महेन्द्रनगर हुँदै नेपाल प्रवेश गर्ने नयाँ एयररुटका लागि आग्रह गर्ने तयारी रहेको जनाइको छ । यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न शहरमा सिधा उडानका लागि अनुमतिका लागि  प्रस्ताव गर्ने नेपालको तयारी छ । 

भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालसहित राजनीतिक दलका शीर्ष नेताहरुस“ग समेत भेट गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update