कञ्चनपुर-बाढीमा ज्यान गुमाएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका तीन किशोरीको सामुहिक दाहसंस्कार गरिएको छ ।
मंगलबार तीनै जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए । उनले किशोरीहरुको पोष्टमार्टमपछि दाहसंस्कार गरिएको र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल भइरहेको पनि बताए ।
सोमबार दिउँसो पुनर्वास नगरपालिका–५ गाउँका १६ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १३ वर्षीय आरती बोगटीको रातोखालीस्थित डुबानमा परेर निधन भएको थियो ।
दाहसंस्कारमा सहभागी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पीडित परिवारलाई भेटेर समवेदना प्रकट गर्नुका साथै पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।