Mero Chitwan
अल्जेरियाको मरुभूमिमा १२ जना सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला

एजेन्सी-अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ सिरियाली आप्रवासीसहित १४ जना मृत फेला परेका छन् ।

बेपत्ता अन्य पाँच जनाको खोजी कार्य जारी रहेको अल्जेरियास्थित सिरियाली दूतावासका अधिकारीहरुले जनाएका छन् । पीडितहरू मङ्गलबार लिबियाबाट आएका थिए । उनीहरू मरुभूमिमा हराएकामा शनिबार मृत फेला परेका थिए। 

अल्जेरियाको मरुभूमिमा हराएका मानिसहरूलाई उद्धार गर्ने काम गर्ने गैरसरकारी संस्था सर्च एन्ड रेस्क्यू एसोसिएसनले आप्रवासीहरूलाई फेला पारेको हो ।

एसोसिएसनले मृत्यु हुनेमा दुई अल्जेरियाली र १२ सिरियाली नागरिक भएको बताएको छ । मृत्यु हुनेमा एक १० वर्षीय र एक १६ वर्षीय किशोर छन् ।

सन् २०१६ मा २२ सिरियालीको अल्जेरियाली सेनाले उद्धार गर्नुअघि छिमेकी नाइजरबाट प्रवेश गरेपछि अल्जेरियाको मरुभूमिमा हराएका थिए ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी युएनएचसिआरका अनुसार सिरिया विश्वको सबैभन्दा ठूलो विस्थापन सङ्कट बनेको छ । 

अरब विद्रोहका बीच राष्ट्रपति बसर अल–असदका सेनाले विपक्षी समूहहरूमाथि हिंसात्मक रूपमा आक्रमण गर्दा सन् २०११ देखि यो देश युद्धले ग्रस्त छ । सिरियाको अर्थतन्त्र र पूर्वाधारमा गम्भीर क्षति पुगेको यस युद्धले पाँच लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको र लाखौँलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update