Mero Chitwan
भरतपुर–देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको सञ्चालनको अन्तिम चरणमा

 चितवन : पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।

देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनमा आउन लागेको हो । विसं २०७१ कात्तिकमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको थियो ।

सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार हाल पुल निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको छ । उनले  निर्माणको काम लगभग पूरा भएको र अप्रोच रोड र रेलिङको केही काम बाँकी भएकाले केही दिनमा पूर्ण तयारीका साथ पुल सञ्चालन गर्न मिल्ने बताए ।

उनले माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालन हुनुपर्ने स्थानीय र सम्बन्धित सरोकारवालाको माग भएको हुँदा यही महिनाको अन्तिम सातामा सञ्चालन गर्ने तयारी गरिरहेको बताए । बीचमा बजेटका कारणले काममा केही ढिला हुन पुगेको उनको भनाइ छ । केही दिनअघि मात्र गत आर्थिक वर्षको रु दुई करोड ९० लाख रकम भुक्तानी भएको हुँदा बजेटमा सहजता मिलेको उनको भनाइ छ । 

ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्नेगरी इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले पुल निर्माणको जिम्मा लिएको थियो । निर्माण भइरहेको समयमा विसं २०७७ चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो । दोस्रोपटक २०७९ साल वैशाखमा भत्किएको थियो । तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी दुई सय २० मिटर लम्बाइको पुल बनेको शाहले जानकारी  दिए ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update