Mero Chitwan
दियालो बंगला सर्वसाधारणका लागि खुला

चितवन : नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । आज एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बंगला औपचारिक रूपमा खुला गरेका हुन् ।

सो अवसरमा मन्त्री तामाङले नेपालको राजसंस्थाको इतिहास जोडिएको बंगला सर्वसाधारणका लागि खुला गरेसँगै भरतपुर महानगरको पर्यटन वर्षमा टेवा पुग्ने बताए । 

भरतपुर महानगरको व्यवस्थापनमा सञ्चालन गर्ने गरी गत चैतमा नेपाल ट्रस्ट र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको थियो ।  बंगलालाई संग्रहालयको रूपमा विकास गरी राज परिवारको जीवनशैली अध्ययन गर्न खुला गरिने जनाइएको छ ।

Messenger_creation_27b21af9-7c9d-4629-be3d-529bba36aaa6-1720364593.jpeg
 

के-के छन् बंगलामा ?

२०१९ सालमा निर्माण गरिएको बंगलामा राजपरिवार बिदा मनाउन आउने स्थान थियो । राजा महेन्द्र तराईमा शिकार खेल्न जाँदा यही दरबारमा बस्ने गर्दथे । २०२८ माघ १७ मा यसै बंगलामा उनको निधन भएको थियो ।

त्यसपछि पनि राजाहरू दियालो बंगलामा आउने गर्दथे । राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए । बंगलामा राजपरिवारले शिकार खेलेर मारेका गोही, बाघका छाला सजाइएको छ भने विभिन्न ऐतिहासिक सामग्री छन् ।

दरबारको छेउमा महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वाटर छ । त्यस्तै, राजाले प्रयोग गरेका पलङ पनि सुरक्षित छन् । राजा महेन्द्रको निधन भएको कक्ष, डाइनिङ हल र भान्छाका भाँडाकुँडा, शिकार गर्ने सामग्री, क्याम्प गर्ने संरचना पनि संरक्षण गरेर राखिएको छ ।

दरबारको पहिलो तलाको ठूलो बैठक कक्षको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर सजाइएको छ । बाघको टाउको जस्ताको तस्तै सजाएर राखिएको छ । राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही भर्‍याङमा राखिएको छ ।

 महानगरले सञ्चालन कार्यविधि बनाएरमात्रै सर्वसाधारणको प्रवेश शुल्क व्यवस्था गरिने जनाएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले हाल सञ्चालन कार्यविधि नभएका कारण सर्वसाधारणलाई निस्शुल्क प्रवेश दिने जानकारी गराइन् । उनले देवघाटको प्रवेशद्वार, पूर्वपश्चिम राजमार्गमै रहेको कारण पर्यटकहरूको आकर्षणको गन्तव्य बन्न सक्ने पनि जनाइन् ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update