Mero Chitwan
अविरल वर्षाले देशका विभिन्न भागका १८ वटा राजमार्ग अवरुद्ध

काठमाडौं : शुक्रबार रातिदेखिको अविरल वर्षाले देशका विभिन्न भागका १८ वटा राजमार्ग अवरुद्ध भएका छन् भने ६५ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन् । पाल्पाका सिद्धार्थ राजमार्ग र तानसेन-रिडी सडक पहिरोले अवरुद्ध भएको छ । यस्तै, कालीगण्डकी करिडोर, आर्यभन्ज्याङ-रामपुर सडक पनि बन्द भएको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गमा तानसेन-बुटवल खण्डको बर्तुङ र कालीमाटी क्षेत्रमा पहिरो खसेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत डुम्रे र चर्चरेको बीच कालीमाटीमा दुई वटा जीप पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । वर्षा रोकिएपछि उद्दार गरिएको छ ।

यस्तै पृथ्वीराज मार्गको तनहुँ स्थित म्याग्दे ४ मनोहरीमा बाटो हिलो भएर ट्रक र बस फसेका छन् । जसका कारण सडक पूर्ण ठप्प भएको गण्डकी प्रहरीले जनाएको छ । यसैगरी अबिरल बर्षाका कारण पहिरो जाँदा हेटौंडा-काठमाडौं रुटको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको छ । यस्तै पहिरोका कारण कान्तिलोकपथ र मातातिर्थ चखेल देउराली सडक पनि अबरुद्ध भएको छ । शुक्रबार रातिबाट परेको वर्षाको कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडानम्बर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

यस्तै भीमफेदी गाउँपालिका -८ प्रतापडाँडामा गएको पहिरोले कान्तिलोकपथ अबरुद्ध भएको छ । इन्द्र सरोवर गाउँपालिका-५ महालक्ष्मीखोला नजिक गएको पहिरोले माता तिर्थ चखेल देउराली सडक अबरुद्ध भएको छ । बाटो सुचारु गर्न डिभिजन सडक कार्यालय हेटौंडा र इन्द्र सरोबर गाउँपालिका र भिमफेदी गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले बताएको छ ।

यसैगरी, लगातारको वर्षापछि खसेको पहिरोले वीपी राजमार्ग र मध्येपहाडी लोकमार्ग बिहानैदेखि अवरुद्ध भएको छ । बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका २ को कमेरेफाँटमा लेदो सहितको पहिरो खसेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । मध्येपहाडी लोकमार्गको गोलन्जोर गाउँपालिका ६ अक्करे भीर र फिक्कल गाउँपालिका २ सुम्नामवेसीमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ । दुइ ठुला राजमार्ग अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्लाहरु ओखलढुङ्गा,खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुर तथा तराइबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटामै अलपत्र परेका छन् ।

उता, गएरातिदेखि परेको अविरल वर्षाका कारण अर्घाखाँचीको फुदङ्गादेखि नरपानी, सितगंगाकोबसेरीसम्म झन्डै एकदर्जन ठाउँमा पहिरो गएपछि बिहानैदेखि सन्धिखर्क-गोरुसिंगे सडक अवरुद्ध भएको छ । उक्त सडकको दहखोलामा ठूलो पहिरो गएको छ । सदरमुकाम सन्धिखर्कबाट बुटवल, काठमाडौंका लागि छुटेका गाडी बाटामै रोकिएका छन् । सातै प्रदेशका अधिकांश ठाउँमा अहिले वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि वर्षाका कारण अहिले विभिन्न खोलाहरुमा बाढी आएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ । 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update