Mero Chitwan
रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिने स्वचालित मेसिनको औपचारिक उद्घाटन

चितवन  : रत्ननगरको बकुलहर रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिन स्वचालित मेसिन जडान गरिएको छ । एक सातादेखि सञ्चालनमा आएको मेसिनको रत्ननगरको मेयर प्रलाद सापकोटाले औपचारिक उद्घाटन गरे ।

सो अबसरमा उनले अस्पताललाई सेवा प्रदान गर्न भवन अभाव रहेको भन्दै केन्द्र र प्रदेश सरकारले बजेट उपलब्ध गराए स्थानीय सरकारले जग्गाको व्यवस्थापन गर्ने बताए ।

रत्ननगर अस्पतालको सेवा विस्तर र विकासका लागि स्थानीय सरकार सधैं तयार रहेको भन्दै सापकोटाले अस्पताललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न आफू तयार रहेको बताए । बागमती प्रदेश सरकार मातहतमा सञ्चालित सो अस्पतालमा अब बिल देखाएको भरमा ल्याब रिपोर्ट मेसिनबाट स्वतः लिन सकिने व्यवस्था गरिएको छ ।

वागमती प्रदेशमै पहिलो पटक अस्पतालकै लगानीमा स्वचालित मेसिन सञ्चालनमा ल्याइएको भन्दै अस्पतलाका मेसु डा.मदन ज्ञवालीले बिरामीहरुलाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले भर्खरै नयाँ अत्याधुनिक प्रविधियुक्त मेसिन सञ्चालनमा ल्याइएको बताए । एटिएम मेसिनजस्तै देखिने सेल्फ सर्भिस मेसिनबाट बिरामीहरुले सहजरुपमा सेवा लिनको लागि पब्लिक सर्भिस पोर्टल तयार गरिएको उनको भनाइ छ ।

मेसिनमा रहेको क्युआर स्क्यानरमा सेवाग्राहीले आफ्नो बिलमा रहेको बारकोड देखाएपछि मेसिनबाट स्वचालितरुपमा सम्बन्धित व्यक्तिको रिपोर्ट प्रिन्ट हुनेछ । सो मेसिनबाट यसका अतिरिक्त स्वास्थ्य बिमाअन्तर्गतका बिरामीहरुले स्वास्थ्य बिमा कार्ड मेसिनमा देखाएकै भरमा सम्बन्धित व्यक्तिको बिमा सक्रिय भए/नभएको अवस्था, म्याद सकिने मिति, बाँकी रकमसमेत हेर्न मिल्ने व्यवस्था रहेको मेसु डा. ज्ञवालीले बताए। 

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update