काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल (पदबाट निलम्बित) ले आफ्नो समीक्षा प्रतिवेदनमा पार्टीमा राजनीतिक संस्कार नभएको र एनजिओजस्तो भएको टिप्पणी गरेका छन् ।
ढकालको दबाब र विरोधपछि पार्टी केद्रीय समितिबाट सार्वजनिक प्रतिवेदनमा उनले एनजिओजसरी चल्न खोज्दा त्यसले पार्टीका कदम राजनीतिक देखिन नसकेको उल्लेख गरेका छन् । सोही प्रतिवेदन प्रस्तुत गर्ने क्रममा केन्द्रीय समिति बैठक लाइभ गर्न पार्टीले अस्वीकार गर्दा ढकालले मुखमा पट्टी बाँधेर विरोध जनाएका थिए । उनको कदमपछि रास्वपाले डा ढकाललाई ७ दिनका लागि निलम्बन गरेको छ।
प्रतिवेदनमा उनले पार्टीभित्र, क्वालिटीभन्दा क्वान्टिटीमा ध्यान दिइने गरिएको, पार्टी काठमाडौं केन्द्रित भएको, पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको, पार्टी कामभन्दा बढी आसन र भाषणमा केन्द्रित भएको, अनुशासन आयोगमाथि प्रश्न उठेकोजस्ता विषय औंल्याएका छन् ।
उनले इलाममा उपचुनाव हुने थाहा हुने बित्तिकै तयारी नगरिएको, सहकारीको भ्रम चिर्न नसकेको, साम्प्रदायिक टिप्पणी भाइरल भएको, स्थानीयभन्दा बाहिरका बढी चुनावी प्रसारमा हुँदा सफलता हासिल गर्न नसकेको पनि जनाएका छन् ।