Mero Chitwan
सरकारबाट बाहिरियो एमाले, ८ मन्त्रीले प्रधानमन्त्रीसमक्ष दिए राजीनामा

काठमाडौँ- नेकपा एमाले सरकारबाट बाहिरिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै साँझ एमालेबाट सरकारमा सहभागी आठ मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिएका हुन् ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बालुवाटार पुगेर राजीनामा दिएका हुन् ।

चार महिनाअघि कांग्रेससहितको गठबन्धन भत्काएर सत्तारोहण गरेको एमाले अहिले आफ्नै नेतृत्वमा सरकार बनाउन बाहिरिएको हो । कांग्रेस र एमालेबीच सोमबार राति आलोपालो सरकारको नतृत्व गर्ने सहमतिसहित गठबन्धन गर्ने सहमति भएको थियो । साेहोअनुसार संसद्‌को दोश्रो ठूलो दल एमालेले पहिलो दल कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएपछि पार्टीबाट मन्त्रीहरुलाई बुधबार साँझ बालकोटस्थित निवासमा बोलाएर राजीनामा दिन भनेका थिए । लगत्तै मन्त्रीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । वर्तमान सरकारमा एमालेबाट आठ जना मन्त्री थिए ।

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update