Mero Chitwan
काठमाडौँको सोह्रखुट्टेमा सडक भासियो

काठमाडौँ : काठमाडौँको सोह्रखुट्टेमा सडक भासिएको छ । बिहान करिब ५ः३० बजे ठुलो आवाजका साथ सडक भासिएर पानी निस्किएको छ । 

 बुधवार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो । बुधवार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । 

भासिएको सडकको खाल्डोबाट पानी बाहिर निस्किएकाे छ, ठुलो आवाज पनि आएर सडक भासिएकाले पानीको मूल फुटेको हुनसक्ने अनुमान गरिएको छ। जुद्ध समसेरको पालामा गाडिएको खानेपानीको पाइपबाट पानी आएको आशङ्का गरिए पनि पानी बन्द गर्दा समेत उक्त खाल्डोबाट पानी आउन बन्द नभएपछि मूल फुटेको हुनसक्ने स्थानीयबासीको अनुमान छ ।

बिहानै परेको खाल्डोमा मोटरसाइकल खसेको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ । 

यता बिहानैदेखि सडकमा यातायात आवागमन ठप्प छ । सडक सञ्चालनका लागि सडक विभागले पहल सुरु गरे पनि पानी नरोकिएपछि समस्या भएको  छ । 

पानी रोकिन साथ ग्राभेल गरेर सडकलाई सञ्चालन गर्ने तयारी गरिएकाे छ । 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update