चितवन–कालिका नगरपालिका ६ खोलेसिमलमा तेजप्रसाद खनालको घरमा पहिलो तलामा सुन पसल खोलेका थिए विनोद सुनारले । पसल गर्ने क्रममा विभिन्न व्यक्तिबाट ऋण लिएका थिए । तर, आर्थिक मन्दीले व्यापारमा समेत असर गर्न थालेपछि उनको तनाव बढ्दै गएको थियो ।
उनले योजना बनाए–ऋण लिएको रकम चोरी भएको देखाइदियो भने ऋणबाट पनि बँच्न सकिन्छ, त्यसमाथि बिमाको रकमसमेत हात पार्न सक्यो भने फाइदा पनि लिन सकिन्छ ।
उनले आफ्नो योजना पूरा गर्ने जिम्मा पूर्णबहादुर विश्वकर्मालाई दिए । पूर्णबहादुरले पवनकुमार पासवानलाई पनि साथमा लिएर मोटरसाइकलमा असार १ गते राति ८ बजेर २० मिनेट जाँदा पसल पुगे ।
खासमा हरेक महिनाको १ गते खोलेसिमल बजार बन्द हुने गरे पनि उक्त दिन पसल खुला गरिएको थियो । पसलमा थिए, विजय विश्वकर्मा ।
उनीहरुको योजना विजयलाई थाहा नहुने कुरै थिएन । उनले फटाफट २ करोड १७ लाख रुपैयाँ बराबरका सुनचाँदी तथा गरगहना जिम्मा लगाए । लगत्तै उनीहरु त्यहाँबाट फरार भए ।
घटनाको केही समयमै विनोद आफैंले आफ्नो पसल लुटिएको भन्दै प्रहरीमा उजुरी दिए । उनले आफ्नो पसलबाट ३५ केजी चाँदी, ३ केजी सुन, नगद २ लाख रुपैयाँ लुटिएको बताए । अझ उनले हतियारसहित आएको समूहले पसलका मेनेजर विजय र बापिधर गौतमलाई खुकुरी र चक्कु घाँटीमा राखी डर त्रास धाकधम्की देखाई सुनचाँदी र नगद लुटी लगेको बताए । लुटिएको भनिएकोमध्येको ७७६.८१ ग्राम सुन भने पसलमै फेला परेको प्रहरीले जनायो ।
तर, पूर्णबहादुर र पवनले लगेको सुनचाँदी विनोदले आफ्नो मिल्ने साथी अन्जना पुडासैनी केसीलाई लुकाउन लगाए । घटनाको दुई दिनपछि विनोदले नै अन्जनाको घरमा गई सुनका गहना लिए ।
त्यसपछि प्रहरीले अप्रेशन धनानन्द नाम दिएर सीआइबीको सहयोगमा अनुसन्धान तीब्र बनायो । त्यसक्रममा विनोद आफैंले चोरी तथा लुटपाट गर्ने योजना बनाई बिमा रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकम चोरी भएको देखाई जालसाजी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाइएको प्रहरीले पत्ता लगायो । उजुरीका आधारमा अनुसन्धान गर्दा पसल सञ्चालकमाथि नै शङ्का लागेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको चितवनका प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।
प्रहरीले यो घटनामा विनोदसहित कालिका ७ का विजय विश्वकर्मा, तनहुँको म्याग्दी ७ का पूर्णबहादुर विश्वकर्मा, बारा बारागढी ४ का पवनकुमार पासवान र कालिका ६ की अन्जना पुडासैनी केसीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।