काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा नदिने हुनु भएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिनु भयो ।
हिजो मध्य राति नेकपा एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको हो । यससँगे दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिने कि संसद्मा विश्वासको मतको सामना गर्ने भन्ने विषयमा छलफल गर्न आज माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो ।
एक महिनाको समय भएकाले प्रधानमन्त्रीले पदबाट अहिले नै राजीनामा नदिने र विश्वासको मतको तयारी गर्ने निष्कर्ष बैठकले निकालेको हो । ‘प्रधानमन्त्रीले त्यो तयारी गर्नुभएको छ,’ सचिव पौडेलले भन्नुभयो, ‘मतका लागि एमाले कांग्रेस रास्वपा सबैपक्षसँग छलफल गर्ने पनि निर्णय भएको छ ।’
सचिव पौडेलले राष्ट्रिय सहमतिको सरकार नबन्ने पनि दाबी गर्नु भयो । उहाँका अनुसार सबै विषयको जानकारी गराउन प्रधानमन्त्री दाहाल राष्ट्रपतिलाई भेट्न जाँदै हुनुहुन्छ ।