
एजेन्सी–जापानको टोकियोस्थित हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।
जापान एयरलाइन्सको विमान धावनमार्गमा तटरक्षकको विमानसँग ठोक्किएपछि आगलागी भएको थियो । प्रसारक एनएचकेमा तस्बिरहरूमा विमानको तल पछाडि सुन्तला रङको आगोको विस्फोट हुनुअघि विमान धावनमार्गमा अगाडि बढिरहेको देखाइएको छ ।
एनएचकेका अनुसार एयरबस विमानमा सवार सबै तीन सय ६७ यात्री र चालक दलका १२ सदस्यलाई सुरक्षित निकालिएको छ । क्योदो समाचारअनुसार विमानमा आठ बालबालिका पनि थिए । यसअघि तट रक्षक विमानमा चालक दलका छ सदस्यमा एक जना सुरक्षित रहेको र अन्य पाँच जनाको अवस्था थाहा नभएको एनएचकेले बताएको थियो ।
जिजी समाचार समितिका अनुसार सोमबार मध्य जापानमा गएको महाभूकम्पपछि उद्धार प्रयासमा सहयोगका लागि तटरक्षक विमान प्रस्थान गर्न लागेको थियो । तट रक्षक विमान उत्तरी जापानी टापु होक्काइडोको साप्पोरा विमानस्थलबाट आएको थियो ।