Mero Chitwan
फैलँदै 'मासु खाने' ब्याक्टेरियाको संक्रमण, कति घातक छ यो ?

जापानमा 'मासु खाने' ब्याक्टेरियाबाट हुने घातक संक्रमणका घटना तीव्र रुपमा बढेपछि विश्वभरका स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

जापानमा जनवरीयता १ हजारभन्दा बढी स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम (एसटीएसएस) का संक्रमण देखिएका छन् । एसटीएसएस एक दुर्लभ तर गम्भीर रोग हो जुन सामान्यतया स्ट्रेप्टोकोकस पाइजिन्स नामक ब्याक्टेरियाको संक्रमणबाट हुन्छ। सुरुमा यसले ज्वरो र घाँटीमा संक्रमण निम्त्याउँछ, तर चाँडै यसले ज्यान जोखिममा पार्ने अवस्था बन्न पुग्छ। यो तीव्र गतिमा फैलिने संक्रमणले शरीरमा झटका निम्त्याउन सक्छ, जसका कारण अंगहरूले काम गर्न छाड्न सक्छन्। प्रभावित व्यक्तिको केही दिनमै मृत्यु पनि हुन सक्छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन-सीडीसीले आफ्नो वेबसाइटमा लेखेको छ-एसटीएसएस घातक हुन सक्छ। यस रोगबाट संक्रमित १० मध्ये तीन जनाको मृत्यु हुन सक्छ।

 जापानमा किन किन बढ्दैछ यो संक्रमण ?
जापानमा अचानक एसटीएसएसका घटनारू किन तीव्र गतिमा बढेका छन् भन्ने कुरा स्वास्थ्य विशेषज्ञहरूले पनि यकिन गर्न सकेका छैनन् । सीडीसीका अनुसार विज्ञहरूलाई नै थाहा छैन कि ब्याक्टेरिया एसटीएसएस भएका करिब आधा मानिसको शरीरमा कसरी पुग्यो।

गत मार्चमा, जापानको राष्ट्रिय संक्रामक रोग संस्था (एनआईआईडी) ले पनि स्ट्रेप्टोकोकस अचानक  द्रुत रूपमा कसरी फैलियो भन्ने बारे थाहा हुन नसकेको जनाएको थियो । 

अन्य देशमा यो संक्रमण फैलन सक्ने आशंका विज्ञको छ । यद्यपि, हाल संसारको अन्य कुनै पनि भागमा तीब्र रुपमा यो फैलिएको छैन ।अमेरिकाको सीडीसीले अहिलेसम्म ३९५ जनामा संक्रमण भएको जनाएको छ । जुन गत वर्ष ३९० जनामा देखिएको थियो । 

यो ब्याक्टेरिया खतरनाक छ?
यो ब्याक्टेरिया मानिसहरूको छालामा रहन्छ । छालामा रहँदासम्म  यसले मानिसलाई बिरामी बनाउँदैन। तर व्यक्तिको रगतमा पुग्यो वा शरीरको कुनै भित्री भागमा पुग्यो भने यो घातक हुन सक्छ।

जब यो ब्याक्टेरिया शरीरको भित्री भाग र रगतमा फैलिन्छ, यसले खतरनाक एक्सोटोक्सिन उत्पादन गर्छ। जसले शरीरको कोशिका र तन्तुहरूलाई नष्ट गर्छ। यसै कारण यसलाई ‘मासु खाने ब्याक्टेरिया’ पनि भनिन्छ ।

ब्याक्टेरियाबाट हुने संक्रमण धेरै बढ्यो भने शरीरका अंगहरुले काम गर्न छोडेर मानिसको ज्यान जान सक्छ । ज्वरो आउने, शरीर दुख्ने र वाकवाकी जस्ता प्रारम्भिक लक्षणहरू देखा परेको २४ देखि ४८ घण्टाभित्र रक्तचाप घट्ने जस्ता गम्भीर अवस्थाहरू देखा पर्न सक्छन्।

साथै मुटुको धड्कन असामान्य हुन्छ र मृगौला र कलेजो जस्ता अंगहरूले काम गर्न छोड्छन्।

एसटीएसएसलाई सामान्यतया अस्पतालमा एम्पिसिलिन जस्ता एन्टिबायोटिकद्वारा उपचार गरिन्छ। यद्यपि, औषधिले स्ट्रेप्टोकोकस प्योजेन्सका केही ब्याक्टेरियालाई असर गर्दैन। तिनीहरूमा एन्टी-माइक्रोबियल प्रतिरोध (एएमआर) विकास भइसकेको बताइएको छ जसले औषधिको प्रभावलाई कम गर्छ। यस्तो अवस्थामा शरीरमा संक्रमण फैलिन नदिन चिकित्सकहरुले शल्यक्रिया गरेर संक्रमित तन्तु निकाल्ने गर्छन् । 

यो ब्याक्टेरिया कुरा गर्दा, खोक्दा, हाच्छिउँ गर्दा वा संक्रमित छालाको घाउहरूसँग प्रत्यक्ष सम्पर्कबाट फैलिन्छन्। सामान्यतया, ६५ वर्षभन्दा माथिका मानिसहरू यसबाट बढी प्रभावित हुन्छन्। यसबाहेक, मधुमेह वा अत्याधिक मदिरा सेवनको लत जस्ता रोगहरू भएका व्यक्तिहरू पनि यसबाट प्रभावित हुन सक्छन्।

यो रोग १४ वर्षअघि देखा परेको थियो । खुला घाउहरूले पनि यसको जोखिम बढाउँछ। तसर्थ, भर्खरै शल्यक्रिया गरेका वा भाइरल इन्फेक्सन, जस्तै दादुरा भएका मानिसहरूलाई आफ्नो घाउ छोप्न सल्लाह दिइन्छ। 

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update