Mero Chitwan
लघुकथा : सुन्दर तन, असल मन 

'हजुर, नमस्कार ।' 

'नमस्कार हजुर नमस्कार ।  हजुर यता सोफातिर बसौं',  नमस्कार फर्काइसकेपछि हातले सोफातिर इशारा गर्छन् । 

'अनि घरतिर के कस्तो छ ? सबैजना सन्चै आरामै हुनुहुन्छ ?  के कति कामले यता पाल्नुभयो? जान्न मिल्थ्यो कि?', उनको प्रतिप्रश्न ।

'हजुर हामी सबै आरामै छौं । मेरो छिमेकका गाईफारम गर्ने  एकजना हितैषी छन् । तिनकी छोरीले यसपालि बीए पास गरिन । ठ्याक्कै २२ पुगेर २३ मा चल्दैछिन् । उनैले कतै केटो पाए खबर ल्याउनु भनेका थिए, ' उनले बेलिबिस्तार लगाए, 'अस्ति दूध बेच्न डेरीमा जाँदा मैले यहाँ पल्तिर एक जना केटा छन् भनेर गाइँगुइँ सुनेको थिएँ । त्यसैले मौका मिले सोधखोज पनि गरौं भनेर निस्केको ।'

'त्यसोभए बुझ्नु भो त ?'

'त्यहाँ नजिकैको चिया पसलमा बसेर यस्सो बुझ्ने प्रयास गरें । अल्लि जानकारी त भयो । धेरै कुरा गर्नु पर्छजस्तो लाग्यो । अनि फर्कें ।'

'के कस्तो लाग्यो त हजुरलाई ठाउँ,  अनि साँगोपाँगो ? '

'ठाउँ त राम्रै रहेछ । बाटो , अस्पताल, पानीपँधेरो राम्रै रहेछन् । तर एक ढलानको पक्की घर भए पनि केटोलाई यहाँको समाजले  पत्याएको रैनछ।' 

'हैन के रछ र कुरो त्यस्तो ? अल्लि नचपाइकन कुरो गर्नुस न । हाम्लाई भन्दा केही फरक पर्ने हैन त ?'

'हैन फरक पर्ने भए त अर्कै कथा बनाउँथें होला । केटो ५  विदेशमा बिताएर आको रैछ । आफ्नो टोल-समाज गाउँले आफैंले हुर्काको, पढाको युवालाई आफैंले बिश्वास गरेर रोजगारी दिन सकेको रहेनछ ।   अनि आफ्नो ठाउँमा केही गर्ने हिम्मत हारेर परचक्रीकोमा बनिबुतो गर्न जानेलाई कसरी असल।भन्नू ? म त अलमल्ल परें अनि त्यत्तिकै फर्कें । लौन हजुरको नजरमा कोही स्वदेशमै रमाएको सुन्दर तन अनि असल   मन भाको विदेशीपनलाई फिटिक्कै मन नपराउने केटा भए यसो बुझिदिन पर्‍यो । के गर्नु छरछिमेकलाई सहयोग गर्नै पर्‍यो !'

 रत्ननगर, चितवन ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update