Mero Chitwan
नेपाली सेलिब्रिटीहरूमा सम्बन्धविच्छेद किन हुन्छ ? 

यो वर्ष पनि केही नेपाली सेलिब्रिटीहरूको सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेद हुनु सामान्य घटना हो । तर यसलाई अतिरञ्जित गरेर, सरोकारवाला व्यक्ति बाहेकले पनि सामाजिक सञ्जालमा बहस नै गर्नु र राता गाला गरेका दृश्य देखिनु निश्चय पनि सुखद लक्षण होइन ।

हुन त सम्बन्धविच्छेद सेलिब्रेटीको मात्र हुँदैन । वर्तमान समय र परिवेश सम्बन्धविच्छेदका लागि निकै उर्वर बनेको छ । यसरी सम्बन्धविच्छेदका घटना किन बढ्दै गइरहेका छन् ? यस विषयमा कसैले चासो नदेखाए पनि यसले गम्भीर परिणाम नल्याउला भन्न सकिन्न । 

अचेल चिया पसल र सामाजिक सञ्जालका भित्तामा सम्बन्धविच्छेदका घटना बाक्लै सुन्न र देख्न पाइन्छ । सम्बन्धविच्छेदको कारणबाट धेरै घरबार भत्किएका छन्, उजाडिएका छन् । कयौँ परिवार लथालिङ्ग भएका छन् । बाबु आमाको भौतिक अवसान नहुँदै धेरै बालबालिका टुहुरा मात्र भएका छैनन् बाल आत्महत्याका घटनाहरूमा समेत वृद्धि हुन थालेको छ। यसले समाजमा गम्भीर विकृति भित्र्याएको छ । यसले दीर्घकालीन प्रभावका रुपमा समाजिक मान्यता र परम्परा खल्बलिने सङ्केत स्पष्ट देखिन थालेको छ ।

यो वर्ष मात्र होइन केही सेलिब्रिटीहरूले गत वर्षहरूमा पनि सम्बन्धविच्छेद गरेका थिए । केचाहिँ हो भने गत वर्षको तुलनामा यस्ता सम्बन्धविच्छेदका घटनाहरू यस वर्ष अलि बढी देखिएको भने पक्कै हो । तर यो अझै चरम उत्कर्षमा पुगिसकेको अवस्था भने होइन । भनिन्छ, दिनको लक्षण बिहानीले सङ्केत गर्छ । त्यसैले यस्ता सम्बन्धविच्छेदका सिलसिला आगामी वर्ष अझै ठूलो संख्यामा देखिने लगभग पक्का छ । 

ती मुलुकबाट हामीले नक्कल गर्नुपर्ने विकास निर्माण र आधुनिक प्रविधिको नक्कल गर्न सकेनौं , अनुशासन र इमान्दारीको नक्कल गर्न सकेनौं । बरु पश्चिमा संस्कृतिमा जस्तै खानपान , पोशाक , धर्म परिवर्तन गर्न सिक्यौं र सम्बन्धविच्छेद गर्न सिक्यौं । 

यसो हुनमा केही कारणहरू जिम्मेवार छन् । वर्तमान नेपाली समाज निकै आधुनिक, सभ्य र हुनेखाने हौं भन्ने प्रयास गरिरहेको देखिन्छ । अचेल मान्छेहरू देश विदेशको संस्कार नक्कल गर्न तँछाडमछाड गरिरहेका हुन्छन् । नक्कल पनि छनोट गरेर होइन, हामी राम्रा नराम्रा हरेक कुराको नक्कल गरिरहेका छौं । फेरि पश्चिमा देशहरूसँगको हाम्रो आवतजावत विगत वर्षहरूको तुलनामा ज्यादै बाक्लो हुँदै गएको छ । ती मुलुकबाट हामीले नक्कल गर्नुपर्ने विकास निर्माण र आधुनिक प्रविधिको नक्कल गर्न सकेनौं , अनुशासन र इमान्दारीको नक्कल गर्न सकेनौं । बरु पश्चिमा संस्कृतिमा जस्तै खानपान , पोशाक , धर्म परिवर्तन गर्न सिक्यौं र सम्बन्धविच्छेद गर्न सिक्यौं । 

 पश्चिमी संस्कार र संस्कृतिमा हुर्केकाहरूले विवाह जस्तो पवित्र बन्धनमा बाँधिन अग्नि साक्षी राख्नु पर्दैन । सात फेरो लगाएर विवाह प्रतिज्ञासहित जग्गेमा घुम्नु पनि पर्दैन । तिनलाई विवाह गर्न र एक आपसमा छुट्टिएर बस्न कुनै आइतबार कुर्नु पर्दैन । तिनले मन लागे पतिपत्नी बनेर बस्न सक्छन् मन नलागे तुरुन्त छुट्टिएर बस्न सक्छन् । तिनलाई विहेको पवित्र सम्बन्ध भत्काउँदा कुल वंश र स्वयं आफ्नो समेत इज्जत जाला भन्ने डर लाग्दैन । किनकि उनीहरू त्यस्तै प्रकारको संस्कारमा हुर्किएका हुन्छन् । त्यहाँको समाजले त्यस्ता घटनालाई सामान्य भन्दा सामान्य घट्नाको रुपमा लिने गरिएको सुनिन्छ । हामी पूर्वीय संस्कारमा हुर्किएका मान्छे हौं । हाम्रो समाज र संस्कार नितान्त फरक छ । यस्ता घटनालाई हाम्रो समाजले हतपती पचाउन सक्दैन । 

हामीले सम्बन्धविच्छेद गर्दा विवाहमा गरेका प्रतिज्ञा भङ्ग गर्नुपर्छ । साक्षीका अगाडी गरेको प्रतिज्ञा तोड्दा हामी ठाडै बेइमानी बन्नुपर्छ । त्यसैले हाम्रो विवाहबाट जोडिएको सम्बन्ध यति सजिलै भङ्ग नहुनु पर्ने थियो । हामीले आफ्नो धर्म संस्कार र परम्परालाई ठाडो चुनौती दिइरहेका छौँ । हामी पाइला पाइलामा चुकिरहेका छौं । 

 यति मात्र होइन,हामी भित्रको मानवीय संवेदनाको स्तर घट्दै गएको छ । हामीले सम्बन्धविच्छेदलाई फेसनको रुपमा सम्झनुको परिणाम हो सम्बन्धविच्छेदका घटनाहरू वृद्धि हुनुको मूल कारण पनि । 

सामान्य व्यक्तिहरूको सम्बन्धविच्छेद दर पनि कम छैन । तर सर्वसाधारणको तुलनामा सम्बन्धविच्छेद गर्नेहरूमा सेलिब्रिटीको संख्या अत्यधिक पाइन्छ ।

अचेल विवाह किन यति लामो समय टिक्न सक्दैन ? सम्बन्धविच्छेद सेलिब्रिटीहरूको मात्र हुँदैन । उनीहरूको सम्बन्धविच्छेदका घटनाहरू बाहिर आइरहँदा सामान्य व्यक्तिहरूको समाचार बाहिर कमै आउने गरेको छ । वास्तवमा वर्तमान समयमा यो रोगले समाज आक्रान्त बनेको छ । सामान्य व्यक्तिहरूको सम्बन्धविच्छेद दर पनि कम छैन । तर सर्वसाधारणको तुलनामा सम्बन्धविच्छेद गर्नेहरूमा सेलिब्रिटीको संख्या अत्यधिक पाइन्छ ।
सेलिब्रेटीहरूको सम्बन्धविच्छेद हुनुको वास्तविक कारण के हो ? 

 पति पत्नीमा हुने गरेका सामान्य समस्याहरूमा एक आपसमा समाधान खोज्नुको सट्टा यसलाई झनै गहिराइमा पुगेर खोतल्ने प्रयास गर्ने प्रचलन ह्वात्तै बढेको छ । “ लोग्ने स्वास्नीको झगडा परालको आगो” भन्ने उखान पुरानो हो । यी दुई बीचको झगडा, उखानमा जस्तै आपसी समझदारीमा तत्काल अन्त्य हुन छोडेको छ । वर्तमानले यो चर्चित उखानलाई परिवर्तन गरिदिएको छ । अचेल पतिपत्नीमा हुने सामान्य झगडा परालको होइन भुसको आगो हुने गरेको छ । व्यक्तिमा सहनशीलताको अभाव हुनु सम्बन्धविच्छेद हुने पहिलो कारण हो । यसबाहेक घरभित्र सिमित हुनुपर्ने पतिपत्नीको सामान्य झगडा सडकमा पोखिने क्रम बढ्दै जाँदा सम्बन्धविच्छेद हुन थप बल पुग्ने गरेको देखिन्छ । पतिपत्नीका सामान्य झगडा अचेल टेलिभिजन र मोवाइलका स्क्रिनमा सजिलै देख्न पाइन्छ । 

कतिपय पतिपत्नी बीच एक अर्कामाथि शङ्का उपशङ्का गर्ने बानी हुन्छ ।‌ दुई जोडी मध्ये कुनै एकले तेस्रो व्यक्तिसँग वातचित गर्दा , सरसापटी आदानप्रदान गर्दा , पटक पटक भेटघाट गर्दा र सामाजिक सञ्जालमा जोडिएर कुरा गर्दा पनि एकले अर्कोलाई शङ्काको नजरले हेर्ने गर्छन् । समाजमा प्रचलित मान्यता अनुसार यसरी सम्बन्ध स्थापित गर्दैमा झगडा गर्नु, एकले अर्कोलाई शङ्का गर्नु र अविश्वास गरिहाल्नु उचित हुँदैन । कतिपय जोडीले यिनै विषयलाई मुख्य आधार मानेर सम्बन्धविच्छेद भएका घटनाहरू पनि यदाकदा देखिने गरेका छन् । यस्तो अवस्थामा निकै सोचविचार गरेर मात्र निर्णय लिने गर्नुपर्छ ।

प्रसिद्धि एक प्रकारको लत हो । यसरी विवाह पछि केही सेलिब्रिटीहरूको लोकप्रियतामा अलिकति कमि आएको देखिएपछि त्यसको दोष सिधै विवाहलाई दिने गरेको पाइन्छ ।

सेलिब्रेटीहरूमा विवाहले व्यक्तिगत प्रसिद्धिलाई असर पर्छ भन्ने भ्रम चिर्न नसक्नु पनि सम्बन्धविच्छेद हुने अर्को महत्वपूर्ण कारण बनेको देखिन्छ । हुन त प्रसिद्ध जोडीहरूको लोकप्रियता विवाहबाट कतै न कतै प्रभावित भएको पनि पाइन्छ । यो प्रभाव लामो समयसम्म भने रहँदैन । प्रसिद्धि एक प्रकारको लत हो । यसरी विवाह पछि केही सेलिब्रिटीहरूको लोकप्रियतामा अलिकति कमि आएको देखिएपछि त्यसको दोष सिधै विवाहलाई दिने गरेको पाइन्छ । यस्तो अवस्थामा उनीहरूमा नकारात्मक असर पर्छ। त्यसैले, पारिवारिक खुशी भन्दा व्यक्तिगत प्रसिद्धिलाई प्राथमिकता दिनेहरूले आफ्नो प्रसिद्धि पुनः स्थापित गर्ने वहानामा सजिलैसँग सम्बन्धविच्छेदको साहारा लिने गर्छन् ।

अत्यधिक आत्म-विश्वास पनि सम्बन्धविच्छेदको कारण हुने गरेको छ । यद्यपि उच्च अहंकार र अन्तहीन आत्म-विश्वासले व्यक्तिगत जीवनमा सफलता त ल्याउँछ तर यही आत्मविश्वासका कारण विवाहित जोडीहरूमा ठूलो सङ्कट निम्त्याउन सक्छ। आफू निकै दक्ष भएकोले सक्षम छु भन्ने अहङ्कारले सम्बन्धविच्छेद गर्न प्रोत्साहन गरिरहेको हुन्छ । परिणाम फेरि तिनको जीवनमा एकपटक सम्बन्धविच्छेद नामको उपचार अगाडि देखापर्छ र उनीहरूले यसको प्रयोग गर्छन् र यो अप्रिय निर्णय लिन पुग्छन् ।

राजनीति,चलचित्र, गीत ,सङ्गीत, खेलकुद, धार्मिक संस्था र टिभी शृङ्खलाहरूमा काम गर्ने क्रममा यिनीहरूको आफ्ना जोडीसँग दु;ख सुख साझा गर्ने समय अन्य व्यक्तिको तुलनामा निकै कमहुन्छ । यही कारण उनीहरू विवाहपछि पनि विवाहित जस्तो बन्न सक्दैनन् । यौन चाहना पुरा गरि दिएको र पुरा भएकै भरमा मात्र जिम्मेवारी पुरा हुँदैन । जिम्मेवारी पुरा नभइ दिँदा सम्बन्ध टिक्नसक्छ भन्न सकिदैन । यही कारण अधिकांश सेलिब्रेटीहरू विवाह नामको बन्धनबाट सन्तुष्ट हुन सक्दैनन् र यसबाट मुक्त हुने उपायको खोजी गर्न थाल्छन् । यस्तो अवस्थामा सम्बन्धविच्छेदको माध्यमबाट एक अर्काबाट अलग भएका दृष्टान्त हाम्रो सामु देखिने गरेका छन् ।

हरेक विवाहित सेलिब्रेटीहरूको जोडीमा सम्बन्धविच्छेद हुने थप कारण विश्वासघात हो । जब पतिपत्नी बीच विश्वासघात हुन्छ , त्यस्तो अवस्थामा सम्बन्ध मजबुत हुन सक्दैन । केही प्रसिद्ध भनिएका व्यक्तिहरूले आफ्नो अनुयायीहरूबाट अत्यधिक प्रशंसा प्राप्त गर्न थालेपछि, तिनै प्रशंसा गर्नेहरू प्रति आकर्षित हुने क्रम बढ्न थाल्छ र उनीहरूको आत्मविश्वासमा त्यसले मलजलको काम गरिरहेको हुन्छ ।

आफू विपरीत लिङ्गीहरूसँग नजिकिँदा र शारीरिक सम्बन्ध राख्दा समेत आफू विरुद्ध कसैले औंला उठाउन नसक्ने भ्रम उनीहरूमा विकसित हुन्छ र किनकि यस अवस्थामा उनीहरूले आफ्नो पदीय हैसियत र लोकप्रियतालाई बलियो हतियार सम्झने गर्छन् । अनि भविष्य प्रति वेवास्ता गर्दै आफ्ना जोडीलाई सजिलै धोका दिन्छन् र विश्वासघात गर्छन् । नतिजा उनीहरू बीच सम्बन्ध विच्छेद हुनपुग्छ । 

आफ्नो सन्तानको ख्याति निकै चलेको देखिन्छ तर उसको जोडीको भने ख्याती नदेखिएपछि पारिवारका सदस्यले उसलाई छोड्न दबाव दिने गरेको पाइन्छ । यस्तो अवस्थामा विवाह भएको छोटो समयमा नै, सम्बन्धविच्छेद हुनसक्ने सम्भावनालाई नकार्न सकिंदैन ।  

 केही सेलिब्रेटीहरू आफ्नो प्रख्याति , अत्यधिक पैसा र प्रसंसाका कारण मदमत्त हुन पुग्छन् । यस्तो अवस्थामा आफ्नो जोडीलाई असक्षम, कमजोर र पाखेको आरोप लगाउँदै सम्बन्धविच्छेद गर्न पुग्छन् । त्यसैले यस्तो अवस्थामा व्यक्तिको मनभित्रको घमण्डले उसलाई उकास्ने काम गरिरहेको हुन्छ । जुनकुरा ऊ स्वयंलाई भने थाहा हुँदैन । इमान्दारी र वफादारी कायम गर्न नसक्नु सम्बन्धविच्छेद हुने अर्को कारण हो ।  

 हरेक मान्छेलाई विवाहपछि धन, सम्पती, मान मर्यादा र इज्जत प्राप्त गरेर मात्र पुग्दैन । यौन क्रियाकलाप मानवीय आवश्यकता हो । यदाकदा यसरी यो जोडी मध्ये कुनै एकलाई यौन चाहना पर्याप्त मात्रामा नपुगेर वा बढी भएर पनि सम्बन्धविच्छेदका घटनाहरू हुने गरेको पाइन्छ । केही जोडी मध्ये कुनै एकजनामा यौन चाहना कम हुने र केहीमा बढी हुने अवस्थामा पनि यस प्रकारको समस्या आइदिन सक्छ । यस प्रकारको समस्यामा व्यक्तिहरू जीवनसाथीको उपचारको सट्टा सोझै सम्बन्धविच्छेद तर्फ अगाडि बढ्न रुचाउँछन् । पतिपत्नी मध्ये कुनै एकजनामा कुनै प्रकारको यौन समस्या देखिए सम्बन्धित डाक्टरसँग परामर्श लिनु उपयुक्त हुन्छ , यसबाट सजिलै समस्या समाधान हुनसक्छ सोझै सम्बन्धविच्छेदको सहारा लिनु हुँदैन । 

कतिपय जोडीहरूले विवाह गर्ने रहरको भरमा एकदम छोटो समयमा एक अर्कालाई राम्रोसँग बुझ्दै नबुझी र एक अर्काको मनको भावना र विचार थाहा नपाई विवाह गर्न पुग्छन् भने यो जोडीको सम्बन्ध त्यति लामोसमयसम्म नटिक्न सक्छ । सामान्य जोडीको तुलनामा सेलिब्रेटीहरूमा यस प्रकारले सम्बन्ध स्थापित भएको पाइन्छ । यस्तो सम्बन्ध दिगो हुन सक्दैन र सम्बन्धविच्छेद हुन सक्ने प्रवल सम्भावना देखिन्छ ।  

 विशेष गरेर सेलिब्रिटीहरूमा पारिवारिक कारणले पनि सम्बन्धविच्छेद हुने गरेको देखिएको छ । आफ्नो सन्तानको ख्याति निकै चलेको देखिन्छ तर उसको जोडीको भने ख्याती नदेखिएपछि पारिवारका सदस्यले उसलाई छोड्न दबाव दिने गरेको पाइन्छ । यस्तो अवस्थामा विवाह भएको छोटो समयमा नै, सम्बन्धविच्छेद हुनसक्ने सम्भावनालाई नकार्न सकिंदैन ।  

यदाकदा केही सेलिब्रेटीहरूमा एउटा डरलाग्दो भ्रम विकसित भएको देखिन्छ । "हामी फरक संसारका मानिसहरू हौं । सामान्य मानिसहरू भन्दा हामी विशेष मानिस हौं । हामीले विशेष प्रकारको खानपान गर्नुपर्छ, सामान्य व्यक्तिले भन्दा फरक पोशाकमा सजिएर बस्नुपर्छ । विशेष सवारी साधनको प्रयोग गर्नुपर्छ । सामान्य व्यक्तिको सङ्गत गर्नु हुँदैन ।" यस प्रकारको सोचाइले उनीहरू विस्तारै असामाजिक बन्दै गएको पत्तै पाउँदैनन् । मनभित्र यस्तो प्रकारको भावना विकसित हुँदै जाँदा उसले आफ्नो जोडीलाई पनि आफूभन्दा भिन्न प्रजातीको देख्न थाल्छ र यस्तो अवस्थामा अचानक सम्बन्ध विच्छेद हुन पुग्छ । 

 जोडी फेरिरहनु, एकअर्काबाट अलग हुनु भनेको शरीरमा लगाएको कपडा फेर्नु र थोत्रो कपडा खोलेर फाल्नु जस्तै होइन । सामान्य घटनामा हुँदाखाँदाको सम्बन्ध त्याग्नु भनेको मुर्खतापूर्ण कार्य हो । पतिपत्नी बीच हुने गरेका सानातिना असमझदारीलाई एक आपसमा बसेर सुल्झाउने प्रयास गर्नुपर्छ । दाउरा बाल्न अगेनाको दाउरा पनि ठोसठास गर्नुपर्छ । दाउरा नठोस्ने हो भने आगो बल्दैन । पतिपत्नीको सम्बन्ध ठिक यसै प्रकारको चुलोमा जोतिएको दाउरा जस्तै हो । आगो बाल्दा दाउरा नबले थुतेर फाल्नु मुर्खता मात्र हुन्छ । पतिपत्नी बीचको सामान्य विवादले सम्बन्ध कमजोर होइन, अझ बलियो बनाउँछ ।

  प्रसिद्धिले दिएको क्षणिक सुखसुविधा, मान मर्यादा स्थाथी नहुन पनि सक्छ । स्थायी हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । यो यथार्थ सबैले बुझ्न जरुरी हुन्छ । संसारमा सबै व्यक्ति समान हुन्छन्, धनसम्पत्ति त आज छ भोलि छैन । दु:ख र सुखको अनुभव, अपवाद बाहेक संसारका लगभग सबै मान्छेसँग हुन्छ । हरेक व्यक्तिको नसामा बग्ने रगत एकै प्रकारको हुन्छ भन्ने बुझ्नुपर्छ । जन्मदा ईश्वरले कसैलाई पनि सम्पन्न र सेलिब्रिटी बनाएर पठाएको हुँदैन ।

“उचित अवसर पाउने हो भने अन्य धेरै मान्छेले आफूले जस्तै गर्न सक्छन् ।" मान्छेले यति मात्र बुझ्ने हो भने पनि सम्बन्धविच्छेदका घटनाहरूमा केही कमी आउन सक्छ । मन नमिल्दैमा सम्बन्ध विच्छेद गर्नु नालायकीपन मानिन्छ । नमिलेको मन त मिलाउने प्रयास गर्नुपर्छ, कुनै न कुनै दिन कसो नमिल्ला ! एकदुई पटकको प्रयास असफल भए पनि हार मान्नु हुँदैन । आखिर मान्छेको मन न हो , त्यो मन कुनैदिन अवश्य मिल्छ। संसारमा अधिकांश व्यक्तिहरू जोडी बनेर बाँच्न चाहन्छन् । एकपटकको सम्बन्धविच्छेदपछि एक्लै रहन कठिन हुन्छ । होइन, सम्बन्धविच्छेदपछि पुनः विवाह वन्धनमा बाँधिनु नै छ भने केका लागि सम्बन्धविच्छेद गर्ने ? 
चितवन ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update