Mero Chitwan
एसईईमा एनजी आएका सबैले मौका परीक्षा दिने पाउने

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा-एसईई २०८० मा ननग्रेडिङ-एनजी ल्याएका अर्थात फेल भएका सबैले मौका परीक्षा दिन पाउने भएका छन् । 

यसपटक ठूलो संख्यामा अर्थात ४ लाख ६४ हजार ७ सय ८५ मध्ये ५२ प्रतिशत विद्यार्थीको एनजी आएपछि ती सबैले मौका परीक्षा दिने पाउन निर्णय शुक्रबार शिक्षामन्त्री सुमना श्रेष्ठले गरेकी हुन् । यसअनुसार एनजी आएका सबै २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि (मौका) परीक्षामा सहभागी हुन पाउने भएका छन् । 

यसअघि दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका २०७८ मा थियो । जसअनुसार  १ लाख १५ हजार ८ सय ३४ जना मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउथे । अब सबैलाई  ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णय गरिएको हो । 

ग्रेडवृद्धिमा सहभागी हुने विद्यार्थीलाई परीक्षाको तयारी सञ्चालन केन्द्र शिक्षा तथा मानवस्रोत विकास केन्द्रमार्फत देशभरका विद्यालयलाई समेत निर्देशन दिने निर्णय मन्त्रालयले गरेको छ । बिहीबारको नतिजामा २ लाख २२ हजार ४ सय ७२ (४७.८७ प्रतिशत) विद्यार्थी मात्रै ग्रेड प्राप्त गर्न कक्षा ११ मा भर्ना हुन योग्य भएका थिए । सबैभन्दा बढी विद्यार्थी गणित, विज्ञान र अंग्रेजी विषयमा फेल भएका छन् । गणितमा १ लाख ७७ हजार, विज्ञानमा १ लाख २६ हजार, अंग्रेजीमा १ लाख विद्यार्थी ननग्रेडिङ भएका छन् । त्यस्तै सामाजिकमा ७३ हजार, नेपाली र अर्थशास्त्रमा ६९/६९ हजार विद्यार्थी ननग्रेडिङमा परेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update