Mero Chitwan
नक्कली भुटानी  शरणार्थी प्रकरण : बादलका छोरा प्रतीक पक्राउ

काठमाडौँ - नक्कली भुटानी  शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् । पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमै राखेर यो अपराधमा संलग्नहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । प्रतीकले बाबु गृहमन्त्री भएका बेला विचौलिया र गृह मन्त्रालयकै कर्मचारीसँग मिलेर शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो ।

२०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार थिए । प्रहरीले ०८० वैशाख ३१ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।  यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, प्रतीक थापा, विचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित ३० जनाविरुद्ध राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र कीर्ते गरी ४ वटा कसुरमा ०८० जेठ १० मा मुद्दा दायर भएको थियो । त्यसमध्ये १८ जनामात्रै पक्राउ परेकामा बाँकी फरार थिए । 

प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै विचौलियाबाट १ करोड रुपैयाँ लिएको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो । यो प्रकरणमा जिल्ला अदालत काठमाडौंले दुई जनालाई धरौटीमा रिहा गरी बाँकी १६ जनालाई पुर्पक्षका लागि कारागार पठाएकोमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री खाणसहित ९ जनालाई धरौटीमा रिहा गरी बाँकी जिल्लाकै आदेश सदर गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update