Mero Chitwan
एसईईको नतिजा सार्वजनिक, २ लाख ४२ हजार विद्यार्थीको 'एनजी'

काठमाडौं - २०८० सालको माध्यमिक शिक्षा परीक्षा- एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार कूल विद्यार्थीमध्ये ५२.१४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको नतिजा ननग्रेडिङ अर्थात एनजी आएको छ । 

यस्तै परीक्षामा सहभागीमध्ये ४७.८६ प्रतिशत मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । 

बोर्डका अनुसार एनजी हुने विद्यार्थीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ । उनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए । 

उक्त परीक्षाको नतिजा १ महिनामा प्रकाशित हुने बोर्डले जनाएको छ । ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । त्यस्तै २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ । प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update