काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले आज रिट निवेदन खारेज हुने फैसला गरेको हो ।
फैसलामा भनिएको छ, “संविधानको धारा १६८ को ५ बमोजिम गठित सरकारलाई समर्थन गर्ने दल वा व्यक्तिले दिएको समर्थन फिर्ता लिएको अवस्थामा धारा १८८ को २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा तत्कालीन मुख्यमन्त्रीले विश्वासको मत नलिएको, यस्तो अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरी नयाँ सरकार गठन भई सो सरकारले विश्वासको मतसमेत लिएको देखिन आएकाले रिट खारेज हुने ठहर्छ ।”
अदालतको यो फैसलासँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की र उनी नेतृत्वको सरकारले निरन्तरता पाउने छ । २०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।