चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, विकासमा भरतपुर र श्रीलंकाबीच गर्न सकिने सहकार्यबारे छलफल भएको थियो ।
भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा आवश्यक प्राविधिक सहयोगका लागि श्रीलंका इच्छुक रहेको राजदूत पाथिरानाले बताए । राजदूत पाथिरानाले रंगशालाको अवलोकन पनि गरेका थिए। उनले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन श्रीलंकाबाट पर्यटकलाई भरतपुर पठाउन सक्दो सहयोग गर्ने पनि बताए ।
कार्यक्रममा श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्र, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, उपसचिव उपेन्द्र पौडेल, उपनिर्देशक जगन्नाथ अर्यालको उपस्थिति थियो ।