Mero Chitwan
चितवनका स्थानीय तहका बजेट : कसको प्राथमिकता के ? [पूर्ण विवरण]

चितवन–चितवनका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । चितवनका भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकाले आज बजेट सार्वजनिक गरेका हुन् । 

भरतपुरले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको तथा रत्ननगरले १ अर्ब ४४ करोड ५३ लाख २० हजारको बजेट ल्याएका हुन् । यस्तै, खैरहनीले १ अर्ब १ करोड ५४ लाख ९५ हजार  र माडी नगरपालिकाले ९९ करोड ६० लाख ३५ हजार रूपैयाँको बजेट ल्याएका हुन् । इच्छाकामना गाउँपालिकाले ७७ करोड ८८ लाख ९२ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । 

भरतपुर महानगरपालिका

भरतपुरले बजेटमा रोजगारी प्रवर्द्धन, पर्यटन, कृषि तथा खेलकुदको विकासलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ । कुल बजेटमा एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ । बजेटमा अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, सङ्घ राजस्व बाँडफाँडबाट रु ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा ५८ करोड २२ लाख ६७  हजार, जनसहभागिता र श्रमदानबाट रु ५० करोड, बैङ्क मौज्दात रु १ अर्ब ६० करोड,  सडक बोर्ड नेपालबाट रु ३ करोड रहने प्रक्षेपण गरिएको छ ।

bharat-1719247465.jpg
 

वडालाई न्यूनतम रु २ करोड ७४ लाख २८ हजार  र अधिकतम रु २ करोड ९० लाख २ हजार गरी जम्मा वडास्तरीय आयोजनाहरूमा रु ८२ करोड बजेट विनियोजन गरिएको छ । यस्तै महानगरका ठूला तथा रणनीतिक महत्त्व तथा गौरवका पूर्वाधार निर्माण गर्न एवं सङ्घीय र बागमती प्रदेश सकारबाट प्रस्ताव भएका समपूरक र विशेष अनुदान अन्तर्गतका योजनाहरूको कार्यान्वयन गर्नको लागि समपूरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउन रु १२ करोड बजेट विनियोजन गरिएको छ ।

महानगरभित्र सार्वजनिक शौचालयहरू निर्माण, फाउन्डेसन सहितको मेसजाली निर्माण, हरियालीसहितको नमुना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, एक वडा, एक खुला व्यायामशालाको लगायतका सहरी सौन्दर्य र भू उपयोग तथा बस्ती विकाससम्बन्धी कार्यक्रम कार्यान्वयन गर्नको लागि रु १४ करोड विनियोजन गरिएको छ ।

दियालो बङ्गलामा पार्कसहित पर्यटकीय पूर्वाधार निर्माण गरी सङ्ग्रहालयका रूपमा सञ्चालनमा ल्याउनको लागि रु १ करोड बजेट विनियोजन गरिएको छ । वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेसातर्फ आकर्षित गर्नका लागि व्यावसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन लगायतका कृषि सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि रु ६ करोड विनियोजन गरिएको छ ।

यस्तै दूध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर  ३ रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता, पशु बीमा कार्यक्रम सञ्चालन, मत्स्य फर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा पचास प्रतिशत अनुदान निरन्तरता लगायत पशु विकास कार्यक्रम कार्यान्वयन गर्न रु ७ करोड बजेट विनियोजन गरिएको छ । 

त्यस्तै महानगरले सहरी पूर्वाधार, भू उपयोग तथा बस्ती विकास र अधुरा योजनाहरूको निरन्तरता दिने, कृषि तथा पशु विकास कार्यक्रम, शिक्षा विकास, नियमित सडक मर्मत सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाइ एवं हरियाली निर्माण सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग, सहकारी तथा रोजगार प्रवर्द्धन, पर्यटन तथा उद्योग र वाणिज्य प्रवर्द्धन र युवा तथा खेलकुद विकासलाई प्राथमिकतामा राखेको छ ।

रत्ननगर नगरपालिका

रत्ननगर नगरपालिकाले बजेटमा पर्यटन, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ । नगरप्रमुख प्रलाद सापकोटाले   ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने सोचका साथ पर्यटकीय क्षेत्रको थप विकास, विस्तार र प्रवर्द्धन गर्ने रणनीति अवलम्बन गरिएको बताए । उनले आथिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर गौरवको आयोजनाका रुपमा कृष्णसार व्यवस्थापन निर्माण सम्पन्न भएको,  रत्ननगर हरियाली पार्कको ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको, वर्षौंदेखि अतिक्रमणको जोखिममा रहेको लौरीघोल तालको संरक्षणका लागि ब्रेक थ्रु गरिएको र पन्चनदी क्षेत्रको संरक्षण कार्य आरम्भ भएको जानकारी दिए ।

ratnanagar-1719247247.jpg


यस्तै, एक वडा एक व्यायामशाला निर्माण गरी नागरिकको स्वास्थ्य प्रवर्द्धन गरिएको, शैक्षिक गुणस्तर कायम भएको र वडा नं १२ मा भूमिहीन सुकुम्बासीमध्ये १६५ जनाको जग्गाधनी प्रमाणपूर्जा वितरणको लागि तयारी गरिएको बताए ।

रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब ४४ करोड ५३ लाख २० हजारको बजेट सार्वजनिक गरेको छ ।  नगरपालिकाले चालु आवभन्दा दुई करोड ९६ लाख कम बजेट ल्याएको छ । 

 २०८१/८२ का लागि आन्तरिक राजस्वबाट कुल आम्दानी १३ करोड २० लाख रुपैयाँ, आन्तरिक संचित कोष दुई करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँटबापत १२ करोड ७८ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदान १८ करोड ६६ लाख रुपैयाँ र सशर्त चालू तथा पुँजीगत अनुदान ३७ करोड ३३ लाख रुपैयाँ, विशेष अनुदान दुई करोड २० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ तीन करोड २० लाख रुपैयाँ गरी संघीय सरकारबाट कुल ६१ करोड ५९ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, बागमती प्रदेश सरकारबाट राजस्व बाँडफाँटबापत ११ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबापत एक करोड ९५ लाख १९ हजार रुपैयाँ, सशर्त चालू तथा पुँजीगत अनुदानतर्फ ६ करोड ५६ लाख रुपैयाँ, समपूरक अनुदान ३ करोड र विशेषतर्फ ६५ लाख गरी १२ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको छ । यस्तै, सडक बोर्डतर्फ एक करोड र अन्य अनुदान तथा सामाजिक सुरक्षाबाट ३० करोड आम्दानी हुने अनुमान गरिएको छ । 

खैरहनी नगरपालिका

 

खैरहनी नगरपालिकाले कृषिलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि उत्पादन बढाउदै रोजगारी सृजना गर्ने र किसानलाई आत्मनिर्भर बनाउन अनुदान र प्रविधिको प्रयोगलाई जोड दिइएको छ । 

कृषि क्षेत्रका लागि एक वडा एक कृषि सहकारी, भूमि बैंक स्थापना, प्राङ्गारिक मल स्रोत केन्द्र स्थापना,खेलबारीमा प्राविधिक सेवा, सिचाई प्रणालीमा सुधार,उत्पादन साथमा, अनुदान हातमा लगायतका योजना ल्याइएको छ ।  पशुपंछी विकासतर्फ गाईभैसीको पकेट कार्यक्रम सञ्चालन गर्ने, बाख्रापालनलाई व्यवसायिक बनाउन बाख्रा पैँचो कार्यक्रम सञ्चालन, पशु आहारमा आत्मनिर्भर बनाउन घाँसको बीउ वितरण गर्ने, उत्पादन बढाउन र बाच्छी पाडापाडी उत्पादन गर्न कृत्रिम गर्भाधान, पशुशाला निर्माणमा प्रोत्सहान गर्ने योजना अघि सारिएको छ ।

khairani-1719247329.jpg
 

स्वास्थ्यतर्फ जिल्लाका जुनसुकै अस्पतालमा उपचार गर्ने खैरहनीका विरामीलाई निस्शुल्क रगत उपलब्ध गराउने, गरिव तथम विपन्न समुदायका ३०० घर परिवारको निस्शुल्क स्वास्थ्य बिमा गर्ने, बाआमा स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउने, उपमेयर गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

शिक्षातर्फ कक्षामा विद्यार्थी टिकाउदर वृद्धि गर्दै गुणस्तर सुधार कार्यक्रम सञ्चालन, थारु, दलीत, अपाङ्गता, अल्पसंख्यक तथा अति विपन्न परिवारका छात्रा तथा दलीत छात्रहरुलाई स्नातक तह सम्म छात्राबृत्ती प्रदान, आर्थिक अबस्था कमजोर भएका बिज्ञान पढ्न चाहनेलाई कक्षा १२ सम्म अनुदान रकम प्रदान गर्ने, विद्यलयमा करेशाबारी निर्माण गरी दिवाखाजा कार्यक्रममा प्रयोगमा ल्याउने, विद्यालयमा फूलबारी निर्माण गर्ने उल्लेख गरिएको छ।

पर्यटन विकास तर्फ खैरहनीलाई सौराहाको पर्यटनसंग जोड्ने, , थारु,दराई,मगर तथा अन्य जनजातीको संग्रहालय व्यवस्थित गरि पर्यटक आकर्षित गर्ने, बुढीराप्ती खोलामा ब्यारेज निर्माण गरि मोटरबोट सञ्चालन गर्ने जनाइएको  छ । पूर्वाधार विकासलाई जोड दिँदै नगरपालिकाले सडक निर्माण र स्तरोन्नति, कबर्डहल, नाला निर्माण, बाल उद्यान निर्माणलाई प्राथमिकता दिदैं नगर गौरवका ४२ वटा योजनामा  ३४ करोड  ७३ लाख ३८ हजार रूपैया बजेट विनियोजन गरिएको छ । 

खैरहनी नगरपालिकाले कुल बजेटमध्ये चालु खर्चतर्फ ४९ करोड ८८ लाख १२ हजार र पुँजीगततर्फ ५१ करोड ६६ लाख ८४ हजार बजेट विनियोजन गरेको छ । 

माडी नगरपालिका
माडी नगरपालिकाले ‘सम्पदा सम्पन्न माडी नगर, इको कृषि र पर्यटनको शहर’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बजेट ल्याएको छ ।

नगरपालिकाले वडा नम्बर १ का लागि ९० लाख, २, ३, ६ र ७ का लागि ८०–८० लाख, ४, ५ र ८ का लागि प्रतिवडा ७० लाख र ९ का लागि एक करोड २५ लाख गरी कुल सात करोड ४५ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै शिक्षातर्फ २८ करोड १४ लाख ८४ हजार बजेट विनियोजन गरिएको छ । जसअन्तरगत सामुदायिक विद्यालयमा शिक्षण सहयोग अनुदान, दिवा खाजा कार्यक्रम, निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम, विषय शिक्षक नेटवर्कलगायत रहेका छन् । स्वास्थ्य क्षेत्रमा कुल नौ करोड ३१ लाख ४७ हजार बजेट विनियोजन गरिएको छ ।

mani-1719247359.JPG
 

नगरको  प्रशासनिक सुधार तथा कार्यालय व्यवस्थापनका लागि २२ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । पशुपक्षी विकासतर्फ एक करोड ९८ लाख सात हजार, श्रम र उत्पादनलाई जोड दिँदै कृषि विकासतर्फ  एक करोड ६७ लाख ६० हजारलगायत विभिन्न क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

यसबाहेक वडा कार्यालयहरुलाई विकास निर्माणमा सक्रिय सहभागिता गराउने र सम्बन्धित वडाबाट नै छनोट भएका योजनाहरुलाई सम्बोधन हुनेगरी वडा नं १ का लागि ९० लाख, वडा नं २, ३, ६ र ७ का लागि प्रतिवडा ८० लाख, वडा नं ४ र ५ र ८ का लागि प्रतिवडा ७० लाख र वडा नं ९ का लागि एक करोड २५ लाख गरी कुल रकम रू सात करोड ४५ लाख विनियोजन रहेको छ ।

माडीले दूधमा दिँदै आएको प्रतिलिटर चार रूपैयाँ अनुदानलाई निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्षका लागि पारित गरेको पशुपक्षी तथा मत्स्य विकास शाखाको बजेटमार्फत सो अनुदानका लागि ६१ लाख ८१ हजार रूपैयाँ विनियोजन गरेको छ । यस्तै, भेटेरिनरी अस्पताललाई थप सबलीकरण गर्दै आवश्यक जनशक्ति व्यवस्थापन गरिने र वडा नं ७ मा रहेको मध्यवर्तीमार्फत सञ्चालित भेटेरिनरी सेवा केन्द्रलाई नगरपालिका मातहत ल्याउन प्रयत्न गरिने उल्लेख छ ।

त्यस्तै, वडा नं ७ मा बाख्रा प्रवर्द्धन कार्यक्रम, वडा नं २ मा पशुपालन प्रवद्र्धन कार्यक्रम, वडा नं ६, ७ र ८ मा माछा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख रहेको छ । पशुपक्षी विकासतर्फ एक करोड ९८ लाख सात हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

इच्छाकामना गाउँपालिका

इच्छाकामना गाउँपालिकाले ७७ करोड ८८ लाख ९२ हजार रूपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त बजेटमध्ये आर्थिक विकासतर्फ रू ६ करोड २३ लाख ११ हजार, सामाजिक विकासतर्फ रू ३५ करोड पाँच लाख एक हजार रूपैयाँ विनियोजन गरिएको छ । यस्तै पूर्वाधार विकासतर्फ रू।२३ करोड ३६ लाख ६८ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रू। एक करोड २४ लाख ६२ हजार विनियोजन गरिएको छ ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रू। ११ करोड ९९ लाख ४९ हजार विनियोजन गरिएको छ । गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सरसफाइ, पर्यटनलगायतलाई पनि प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update