Mero Chitwan
रत्ननगरले ल्याउने बजेटमा पर्यटन प्रमुख प्राथमिकतामा 

चितवन–चितवनको रत्ननगर नगरपालिकाले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा पर्यटनलाई प्रमुख प्राथमिकता दिने भएको छ । ्देशकै प्रमुख पर्यटकीय गन्तव्य सौराहा रहेको रत्ननगर नगरपालिकाले पर्यटनलाई प्राथमिकता दिने भएको हो । 

‘नगरपालिकालाई पर्यटन नगरपालिका बनाउने उद्देश्यसहित बजेट ल्याइनेछ,’ नगरप्रमुख प्रलाद सापकोटाले भने, ‘यसबाहेक शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकता दिइनेछ ।’ नगरपालिकाले यही असार १० गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछ । 

भेषराज दुवाडीको संयोजकत्वमा रहेको रत्ननगर पर्यटन प्रवर्द्धन समितिले पनि यही असार ५ गते नगरको पर्यटन प्रवर्द्धनसम्बन्धी ५१ बुँदे कार्ययोजना नगरपालिकालाई बुझाएको थियो । 

के छ रत्ननगर पर्यटन प्रवर्द्धन समितिको कार्ययोजनामा ? 
रत्ननगर पर्यटन प्रवर्द्धन समितिले सौराहा भ्रमण वर्ष २०२५ को तयारी गर्न, टिकौली जंगल प्रवेशसँगै सौराहा प्रवेश गरिएको संकेट देखिने डिजिटल सूचना पाटीको व्यवस्था गर्न तथा सौराहा र आसपासका व्यावसायिक स्थानको छुट्टै नक्सा बनाइ आवश्यक स्थानमा राख्न सुझाव दिएको छ । 

यस्तै, पर्यटन सूचना केन्द्रसहित विकास समिति स्थापना गर्न, चित्रसारीमा डबल लेनको आकर्षक सिग्नेचर पुल निर्माण गर्न, थारु म्युजियम सेन्टर बछौली र जैविधक विविधता संरक्षण केन्द्र सौराहालाई स्तरोन्नतिको पहल गर्न, पूर्वी चितवन निजी क्षेत्र समन्वय समितिमार्फत् सौराहालगायत औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानमा चौबिसै घण्टा गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था गर्न तथा सौराहालाई अझै आकर्षक र पर्यटकमैत्री बनाउन मापदण्ड बनाई आचारसंहिता लागू गर्न कार्ययोजनाले सुझाएको  छ । 

यसबाहेक पर्यटकको बसाई लम्ब्याउने, सौराहामा अन्तर्राष्ट्रियस्तरको गल्फ कोर्सको व्यवस्था गर्ने तथा सौराहालाई केन्द्र बनाएर पूर्वी चितवनका पाँचवटै पालिकाका पर्यटकीय गन्तव्यलाई जोड्नेलगायत कार्ययोजनामा उल्लेख गरिएको छ ।


 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update