Mero Chitwan
बलिउड गायिका अल्का याज्ञनिकले गुमाइन् सुन्ने क्षमता, उनलाई भएको के हो ? किन हुन्छ यस्तो ? 

काठमाडौं–बलिउड गायिका अल्का याज्ञनिक यसैसाता आफ्नो इन्स्टाग्राममार्फत् भाइरल संक्रमणका कारण आफ्नो सुन्ने क्षमता गुमेको र डाक्टरले सेन्सरीन्युरल हेयरिङ लस नामक दुर्लभ समस्या भएको बताएको खुलासा गरिन् । एक दिन विमानयात्रापछि निस्कने क्रममा आफूले नसुनेको आभास भएपछि जचाँउन गएको उनले बताएकी छन् । साथै उनले हेडफोन र चर्को आवाजबाट परै रहन पनि उनले प्रशंसकलाई सल्लाह दिएकी छन् । 

त्यसपछि बलिउड तथा प्रशंसकहरुले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरेहका छन्। अल्काले नेपालीसहित २५ भन्दा बढी भाषामा २१ हजारभन्दा बढी गीत रेकर्ड गराइसकेकी छिन् भने उनी २ पटककी नेशनल अवार्ड विजेता पनि हुन् । उनी सन् २०२२ मा विश्वभर सबैभन्दा बढी स्ट्रीम गरिने कलाकारको रुपमा गिनिज बुकमा समेत नाम लेखाएकी थिइन् ।

खासमा उनलाई भएको के हो ?  
सेन्सोरीन्युरल हेयरिङ लस
अर्थात् एसएनएचएल कानको भित्रि भागमा रहने सुन्ने कोशिका (अडिटरी नर्भ) मा क्षतिका कारण देखिने समस्या हो। ९० प्रतिशतभन्दा बढी वयस्क मानिसमा यही अंगमा समस्या आउँदा श्रवण क्षमता गुम्छ । अधिकांश अवस्थामा एसएनएलएच चर्को आवाज, वंशाणुगत कारण र वृद्ध उमेरका कारण प्राकृतिक रुपमा देखिन्छ । 

कानको भित्रि भागमा एक अंग हुन्छ, जसलाई कोक्लिअ भनिन्छ । यसमा अत्यन्त मसिना रौं (स्टीरीओसिलिया भनिने) हुन्छन्, यसले ध्वनी तरंगलाई कम्पनमा परिणत गर्छ जसलाई मानिसको श्रवण तन्त्रिका मस्तिष्कसम्म पुर्‍याउने काम गर्छ र हामी आवाज सुन्छौं । ८५ डेसिबलभन्दा चर्को आवाजका कारण यी सुक्ष्म रौंमा क्षति पुग्छ । तर, यी रौं ३० देखि ५० प्रतिशत नस्ट नहुँदासम्म हामीले सुन्ने क्षमता गुमाएको महसुस गर्दैनौं । 
एसएनएचएल सामान्यदेखि गम्भीर खालको सम्म हुन्छ । गम्भीर खालको हुँदा मानिसले पूरै सुन्ने क्षमता गुमाउने सम्भावना हुन्छ । 

यसका लक्षण
पृष्ठभूमिका कुनै आवाज आउँदा पनि सुन्न नसक्नु
बालबालिका र महिलाको आवाजबीच फरक छुट्याउन नसक्नु
रिगंटा लागेजस्तो हुनु या असन्तुलित हुनु
चर्को आवाजसमेत सुन्न समस्या हुनु
आवाज सुने पनि त्यसलाई प्रष्टसँग नसुनेको महसुस हुनु
कान बजिरहनु

धेरैजसो अवस्थामा उमेरका कारण यो समस्या हुने गरेको भए पनि चर्को आवाजका कारण एक्कासी मानिसले सुन्ने क्षमता गुमाउने हुन्छ । यस्तो अवस्थामा हेडफोन सुन्दा ६० प्रतिशतभन्दा कम भोल्युम गर्न चिकित्सकले सल्लाह दिएका छन् । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update