Mero Chitwan
आज गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं-मनसुनी प्रणालीको प्रभाव कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका केही,  बागमती, कर्णाली  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोː कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीप्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । बाग्मती, गण्डकी  र लुम्बिनी प्रदेशका केही, कोशी र  मधेश प्रदेशका थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |

राति कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update