चितवन-चितवनको इच्छाकामना गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्बाधारलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार गाउँपालिकाको कार्यालयमा कुरिनटारमा आयोजित पन्ध्रौं गाउँसभामा पालिका अध्यक्ष दानबहादुर गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाले ‘सुखी खुशी समृद्ध इच्छाकामनाः कृषि पर्यटन पूर्वाधार विकास हाम्रो चाहा’ भन्ने नारा अघि सारेको छ ।जसअन्तर्गत सुलभ स्वास्थ्य सेवाः नागरिकलाई टेवा अभियान अन्तर्गत इच्छाकामना आधारभूत अस्पतालको निर्माणलाई तीब्रता दिइने जनाएको छ ।
यस्तै २४ सै घण्टा प्रयोगशाला सेवासहितको चिकित्सकीय सेवालाई थप सुदृढिकरण गर्दै अस्पतालबाट आवश्यक प्रकृया पुरा गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने, तोकिएका औषधिको निःशुल्क उपलब्धता, बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर र जेष्ठ नागरिक, बालबालिका र गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणको प्रभावकारी व्यवस्था मिलाइने उल्लेख छ ।
‘गाउँपालिकाको इच्छा गरिखाने शिक्षा’ स्वर्णिम योजना अन्तर्गत सीपमूलक र व्यवहारिक शिक्षा सहित सुविधा सम्पन्न इसिइडी कक्षा व्यवस्थापन, जीवनउपयोगी शिक्षा, मेरो विद्यालय म बनाउँछु, विद्यालयको सुन्दरता र हराभरा विद्यार्थीहरुको सक्रिय सहभागिता लगायतका कार्यक्रम समाबेश गरेको छ । गाउँपालिकाले स्थानीय उत्पादनको प्रबद्र्धन, विद्यार्थीको पोषण सुधार र विद्यार्थीलाई स्थानीय आवश्यकता अनुसारको सिप विकास गर्न एक विद्यालय एक करेसाबारी, एक विद्यालय एक पूर्वाधार सुधार कार्यक्रम कार्यान्वयनमा ल्याउने जनाएको छ । यस्तै ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ भन्ने अवधारणा अनुरुप शिक्षक दरबन्दी मिलानको आवश्यक व्यवस्था मिलाइने अध्यक्ष गुरुङद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै युवालक्षित रोजगारका कार्यक्रम ल्याउनुका साथै बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई समाजमा पुनः एकीकरण गर्ने, स्थानीय रोजगारीका अवसर सृजना गर्न अध्यक्षसंग युवा तथा खेलकुद र उपाध्यक्षसंग महिला तथा सिप विकास कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
‘कृषकको उन्नति गाउँपालिकाको समुन्नती’ अभियानलाई प्राथमिकता प्राप्त योजनाको रुपमा अगाडि बढाउन कृषि बाली र पशुपंक्षीमा देखा पर्ने संक्रमक रोग नियन्त्रणका लागि गाउँपालिकास्तरिय क्युआरटी गठन गरी परिचालनलाई प्रभावकारी बनाइने उल्लेख छ ।
पर्यटनको प्रचुर सम्भावना भएको गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पनि प्राथमिकताका साथ योजना ल्याएको छ । उपरदाङगढी, सिराईचुली र इच्छाकामना मन्दिर लगायतका पर्यटकीय क्षेत्रहरुको उचित एवं व्यवस्थित विकास र विस्तारका लागि ‘इच्छाकामना त्रिभुज परियोजना’ सञ्चालन गर्ने जनाइएको छ ।
जस अन्तर्गत उपरदाङगढी क्षेत्रको एतिहासिक र पुरातात्विक महत्व झल्किने गरी गढी दरबारको निर्माण गरी पुरातात्विक तथा एतिहासिक सङ्ग्रालयको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सिराईचुली क्षेत्रमा प्राकृतिक सौन्दर्यता र पदमार्ग विकास र विस्तारलाई जोड दिइने भन्दै इच्छाकामना मन्दिर क्षेत्रमा धार्मिक सम्पदाहरुको विकास र विस्तारलाई जोड दिइने उल्लेख छ । लामो झरना, बालगौरी पाथिभरा मन्दिर, महादेवस्थान, हात्तीबाङ, कुरिनघाट शिवालय जस्ता धार्मिक एतिहासिक पुरातात्विक एवं पर्यटकिय स्थलहरुको भौतिक संरचना निर्माणमा थप लगानी गरी पर्यटन प्रबद्र्धनका कार्यक्रम संचालन गरिने घोषणा गरिएको छ ।